रुपन्देही, ११ मंसिर । महिनौंदेखि भइरहेको अघोषित नाकाबन्दीले औषधिको आयात नहुँदा लुम्बिनी अञ्चलमा औषधिको अभाव हुन थालेको छ । अस्पतालहरुले दिएको जानकारी अनुसार औषधि लगायत उपचार सामग्रीको अभाव हुन थालेको हो ।
नेपालमा आवश्यक औषधि मध्ये ६० प्रतिशत भारतबाट आयात हुने गरेकामा तीन महिनादेखि जारी आन्दोलन र भारतले गरेको नाकाबन्दीले लुम्बिनी अञ्चल लगायत देशभर औषधिको अभाव सुरु भएको हो । नेपाल औषधि व्यवसायी संघ लुम्बिनी अञ्चल शाखाले नाकाबन्दीले औषधि अभाव हुन थालेको भन्दै सहज आपूर्ति व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । सहज रुपमा औषधि नेपाल भित्रिन नसक्दा आम नागरिक औषधि उपचारबाट बञ्चित हुनुपर्ने अवस्था आएको भन्दै तत्काल सहज आपूर्तिको व्यवस्था गर्न संघले सरकारसँग माग गरेको हो । संघका शाखा कार्यबाहाक अध्यक्ष शिव ज्ञवालीले अझंै १५÷२० दिन अहिलेकै जस्तो अवस्था भए देशभर औषधि सकिने बताए । उनले भने, ‘अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि छुट्टै औषधि आएन भने ठूलो संकट सुरु हुन्छ ।’
साथै सवारीको इन्धन अभावले औषधि विक्रेतासँग मौज्दाद रहेको औषधि पनि ग्रामीण क्षेत्रमा पु¥याउन नसकिएको उनले बताएका छन् । ज्ञवालीले अहिले बजारमा आइ फ्ल्युड, विभिन्न प्रकारका एन्टीवाएटिक्स, अक्सिजन, अप्रेसनमा प्रयोग हुने सर्जिकल सामानहरु देशभर अभाव भएको बताए । नेपालमै औषधि उत्पादन गर्ने उद्योगहरुले समेत कच्चा पद्धार्थको अभावका कारण औषधि कम उत्पादन गरिरहेका छन् । नेपाली उद्योगी तथा औषधि व्यवसायीहरुले तेस्रो मुलुकबाट आयात गरेको औषधि तथा कच्चा पदार्थ नाकाबन्दीले दुई महिनादेखि नाकामा रोकिएर बसेका छन् ।
नेपाल औषधि व्यवसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले औषधि जन्य वस्तुको आपूर्ति व्यवस्था मिलाउन राज्यसँग माग गरेका छन् । उनले सडकमार्गबाट औषधि आउन सक्ने अवस्था नरहे हवाइमार्गबाट ल्याएर भएपनि आम नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गनुपर्ने बताए । संघले उपचारजन्य वस्तुको सहज आपूर्ति गराउन गठित लाइफ सेभिङ औषधि मन्त्रीस्तरीय कार्यदल एवं औषधि व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा कार्यदल समेत गठन गरिसकेको छ । अहिले विशेषगरी काठमाडौं, जनकपुर, राजविराज लगायतका सहरमा औषधिको समस्या देखिएको छ । नेपालमा आवश्यक औषधि मध्ये ६० प्रतिशत काठमाडौंका लागि मात्र आवश्यक पर्छ । संघले तोकेको मूल्य भन्दा बढीमा औषधिको विक्री बितरण गरेको पाइएमा त्यस्ता औषधि विक्रेतालाई कडा कारवाही गर्ने बताएको छ ।
संघका कोषाध्यक्ष लुकराज न्यौपानेले नाकाबन्दी गर्ने कार्य आपत्तिजनक भएको भन्दै निर्वाध रुपमा औषधि नेपाल भित्र्याउन दिन भारतसँग आग्रह गरेका छन् । उनले कुटनैतिक रूपमा पहल गरी औषधिजन्य आपूर्ति व्यवस्था गर्न सबै क्षेत्रलाई अनुरोध समेत गरेका छन् । संघका महासचिव सुरज भण्डारीले नेपाली जनता उपचारको हकबाट समेत बञ्चित हुनपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे । संघले इन्धनको सहज व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग आग्रह गरेको छ । नेपालमा वार्षिक ३५ अर्ब रुपैयाँको औषधिको कारोवार हुने गरेको छ । जसमध्ये १२ अर्बको मात्रै सर्जिकल सामग्री खरिद गरिन्छ ।
प्रतिक्रिया