हिन्दी च्यानल र फिल्ममा रोक

channel bandaकाठमाडौं, १० मंसिर । दुई महिनाअघि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपालभित्र हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई पुनः निरन्तरता दिने भएको छ । बिहीबारदेखि नेपालभरि हिन्दी फिल्म, च्यानल तथा विज्ञापन रोक्ने र भारतीय नम्बरप्लेटका गाडी चल्न रोक लगाउने निर्णय गरेको पार्टीले जनाएको छ ।

‘बिहीबारबाट नेपालमा भारतीय च्यानल, फिल्म तथा विज्ञापन बन्द गराउन सम्बन्धित संस्थाहरूलाई पत्रचार गरिरहेका छौँ । त्यस्तै भारतीय नम्बरप्लेटका गाडीहरू नेपालभित्र चल्न समेत रोक लगाउने भएका छौँ,’ प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, ‘नाकाबन्दीका कारण जनजीवन प्रभावित भइरहँदा दुई महिनाअघि गरेको हिन्दी च्यानल, फिल्म र मालबहाक गाडी चल्नमा रोक लगाउने निर्णयलाई निरन्तरता दिएका हौँ । त्यसको विकल्पमा नेपाली फिल्म तथा संगीतलाई प्राथमिकतामा राखिएको छ ।’

नेपाल हिन्दी फिल्म र च्यानलको ठूलो बजार क्षेत्रको रूपमा मानिन्छ । नेपालमा संविधान जारी भएपछि आक्रोसित बनेको भारतले नेपालमाथि नाकाबन्दी लगाएको छ । भारतीय हस्तक्षेपका कारण आक्रोसित नेपालीहरूले हिन्दी सिनेमा बहिस्कार गरेर एवं च्यानल बन्द गरेर साथ दिने माओवादी नेता विश्वकर्माले बताए ।
दुई महिना अघिपनि भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा केबुल सञ्चालकहरूले स्वस्फूर्तरूपमा हिन्दी च्यानल बन्द गराएका थिए तर, तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु भएको थियो ।

यसैबीच हिन्दी चलचित्र र च्यानल बन्दको विषयमा आफूलाई औपचारिक जानकारी नआएको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईको भनाई छ । ‘म स्वदेशी चलचित्रको प्रवद्र्धनका लागि लागेको मान्छे हुँ । हिन्दी चलचित्र र च्यानल बन्दको विषयमा व्यक्तिगत रूपमा मेरो पनि समर्थन छ ।’ तर, अहिले आफू बोर्डको अध्यक्ष पनि भएकाले कसरी अगाडि बढ्ने भन्नेमा सम्बन्धित निकायमा छलफल गरेर मात्रै अघि बढ्ने उनले अध्यक्ष राईले बताए ।

स्वदेशी चलचित्रको विकासका लागि विदेशी चलचित्र बाधक भएको अनुभव गरेका राई हिन्दी चलचित्रलाई निषेध गर्ने पक्षमा छैनन् । ‘निषेध होइन व्यवस्थित गर्नुपर्छ । म त्यसका लागि काम गर्दै छु’, उनले भने । अहिले नेपालमा सलमान खान अभिनित हिन्दी चलचित्र ‘प्रेम रतन धन पायो’ प्रदर्शन भइरहेको छ । शुक्रबार रणवीर कपुर र दीपिका पादुकोण अभिनित चलचित्र ‘तमाशा’ प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया