काठमाडौं, ७ मंसिर । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय संकट उत्पन्न गरेको भन्दै यस्तो बेला भारतीय चलचित्रकर्मीहरूले नेपाली जनतालाई साथ दिने बताएका छन् । फिल्म साउथ एसियामा भाग लिन काठमडौं आएका उनीहरूले एक विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दीजस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा ‘नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।’ उल्लेख छ ।
गएको बैसाखमा गएको भूकम्प र तराईमा आन्दोलन भइरहेका बेला गरिएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गर्दै यस्तो बेला नेपालीको साथमा आफूहरू समेत रहेको बताएका छन् । भारतीय कलाकार दीप्ती मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायतले विज्ञप्ति जारी गरेका हुन् ।
प्रतिक्रिया