नांगो भैसकेको हाम्रो राष्ट्रवाद

sharan bikram mallaवीरगञ्जमा मधेसी आन्दोलनमा मारिने भारतीय नागरिक भएको पुष्टि भएको पत्र पत्रिकामा छापिए । एमाले नेता समेत रहेका विना विभागीय मन्त्री सत्यनारायण मण्डलले सोमबार बिराटनगरमा एक कार्यक्रममा बोल्दै भने ‘भारतले विना बर्दीका सेना नेपाल पठाउन खोजेको  ।’ त्यती बताएपछि काठमाडौंस्थित भारतीय दूताबासले मंगलबार विज्ञप्ति निकालेर ‘मन्त्रीको अभिव्यक्ति उत्तेजक, निराधार र दुरासयपूर्ण छ । यसले नेपाल र भारतको सौहार्दतापूर्र्ण सम्वन्धमा प्रभाव पार्नेछ’ भनी विज्ञप्ति निकालेको छ ।

यसै सन्दर्भमा बंलादेशको उदय हुँदा यस्तै घटना भएको इतिहास पढ्न पाइन्छ । यसरी नै शुरुमा भारतीय इन्दिरा गान्धीको नेतृत्वमा रहेको कांग्रेस आईको सरकारले बंलादेशको स्वतन्त्रताको  आन्दोलनलाई सहयोग पु¥याउन आफ्ना पार्टीका कार्यकर्तालाई पठायो ।  पछाडि भारतीय सेनाहरूलाई कुर्था, पाइजामा र धोती लगाएर साफा गुटाइ, हतियार बोकाएरै पठाईएको थियो ।

यो सम्भव हुनुको पछाडि महत्वपूर्ण कारणहरू पनि थिए पश्चिमी  पाकिस्तानबाट १६०० किलोमिटरको भारतीय भूमिले पूर्वी पाकिस्तानलाई छुट्याएको छ ।  पश्चिमी पाकिस्तानी शासकहरूले पूर्वी पाकिस्तानलाई आफ्नो उपनिवेसको रुपमा ब्यवहार गर्नुले  पूर्वी पाकिस्तानी जनताहरू उकुस–मुकुस भएका  थिए । अप्रिल १०, १९७१ मा आगामी लिगका महासचिव शरेख मुजिवुर रहमानका विश्वासिला  रहेका ताजुद्दीन अहमदलाई भारत कलकत्ताको ८ थेटर रोडमा  कार्यालय खोल्न लगाई बंगलादेश अस्थाई सरकारको प्रमुख, प्रधानमन्त्री बनाई  घोषणा गरिएको थियो । तर, हाम्रो मुलुक माथि  सैनिक हस्तक्षेप त्यति सहज छैन । यद्यपि नेपाली शासक माथि मनोबैज्ञानिक सैनिक हस्तक्षेपसम्मको त्राश भने भइरहेकै छ  । कुटनीतिक भाषामा आफ्ना चरहरू मार्फत यो हदसम्मको भय, त्राश फैलाउन भारत सफल छ । अहिले विश्व राजनीतिक रंगमञ्च बदलिएको छ ।

भारतीय भूमिका विश्व सामु उदाङ्गो बनेको छ । उसको मूल रणनीति नेपाललाई आत्मनिर्भर हुने स्वतन्त्र अर्थ नीतिको बाटोमा जानबाट रोक्ने, हाम्रा अनुकुलका स्वनाम धन्य नेपालीलाई सरकारको बागडोर जिम्मा लगाउने खेल खेल्ने, विस्तारै नेपाली मुल्वाशीलाई अल्पमतमा पारी  जनमत होस् या कुनै प्रकारको चुनावी नाटकबाट भोलिको सरकारै  आफ्नो  नागरिकहरूको कब्जामा पार्न सकेको खण्डमा मात्र नेपालको प्राकृतिक स्रोत, साधन र यहाँको बजार एकलौटी रुपमा निश्चित गराउने रोडम्याप लिएर भारतीय सरकार र त्यहाँको अंग्रेजी दासता मनोबिकार बोकेका कर्मचारी तन्त्र निरन्तर लागि परिरहेको छ ।

अहिले बजारमा एउटा हल्ला चलिरहेको छ । नयाँ वैकल्पिक शक्तिको आबश्यकता र त्यसको निर्माणका निमित्त भनि एमाओवादी पार्टीका बाबुराम भट्टराई पछि झन्डै ४ दर्जन नेताहरूले संयुक्त रुपमा पार्टी परित्याग गरे, यो अनुमान गरिरहेकै विषय हो । पूर्व अनुमान गरिएको विषय भएतापनि भोलि राजनीतिक विश्लेसकले यस घटनालाई पनि भारतीय खेलको एउटा चालको रुपमा चित्रण गर्नेछन् ।

बाबुराम भट्टराईजीका सहयोगीहरूले जायज मागहरूसहित आन्दोलनले उठाएको मागको सम्बोधन, सम्पूर्ण नेपालीहरू मिलेर पुनरनिर्माणमा लाग्नु पर्ने, कैयौं बाँंकी रहेका शान्ति प्रक्रियाका विषयहरूलाई पुरा गर्नु पर्ने, आसन्न चाडपर्वहरूको पूर्व सन्ध्यामा कैयौं उपभोग्य वस्तुहरूको सहज आपूर्तिका लागि पहल गर्नुपर्ने, स्वाधिनताको भावना सहितका सम्पूर्ण नेपालीहरूलाई आन्तरिक रुपमा गोलबन्द गरेर देशको विद्यमान समस्याको समाधान गर्ने र राष्ट्रिय एकता र सार्वभौमसत्ताको रक्षाको लागि राष्ट्रिय सहमति कायम गरेर जानुपर्ने अवस्थामा भनिएता पनि नेपाली समाजमा हाल मौलाएको  स्वाधिनता, राष्ट्रिय एकता र सार्वभौमसत्ता प्रतिको  भावना सदाभन्दा बढी चासोले गर्दा भिन्न चरित्र भएका कारण उहाँहरूले उठान गर्नु भएको पदचिन्ह नै गलत भन्ने व्यापक बुझाइ हुँदा जनतालाई बिश्वासमा लिई नयाँ राजनीतिक शक्ति निर्माण गर्न त्यति सहज छैन । बरु नेपाली जनताले अब स्वाधिनता, राष्ट्रिय एकता र सार्वभौमसत्ता रक्षाका लागि स्वतन्त्र र आत्मनिर्भर मुखी अर्थनीति अवलम्वन गर्न आवश्यक छ । आउँदा लामो समय सम्म कष्टपूर्ण जीवन नेपाली जनता तयार हुन जरुरी छ । हाम्रो जीवन शैलीमा परिवर्तन गर्न जरुरी छ भनी अभियान चलाउन आवश्यक छ ।

स्वयम् बाबुरामजी अर्थमन्त्री हुनु भयो, प्रधान मन्त्री पनि हुनु भयो । भारतीय एकाधिकार पुँजीको नेपाल माथि बोकाएको बोझको परिणाम आजको स्थिति सिर्जना हुनु असम्ब्यभावी हो भन्ने के उहाँलाई थाह थिएन ? कहिलै उहाँले नेपालको अर्थ नीतिलाई विविधिकरणतर्फ लैजान सोच्नु भयो । प्रजातन्त्र वादी तथा कम्युनिष्ट क्रान्तिकारीहरू देवेन्द्रराज पाण्डे, महेश आचार्य, भरतमोहन अधिकारी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, डा. बाबुराम भट्टराइ, वर्षमान पुन कसैले स्वाधीन अर्थतन्त्रको लागि कति पदचिन्ह छोडेको अभिलेख छ ? कसैले भारतीय एकाधिकार पुँजीको बोझलाई बोक्न रिले दौडमा भाग लिनुको विकल्प खोजेको पाइएन ।  फेरि पनि असल छिमिकीको नाममा रोटिवेटिको नाममा जो कोहीसँग पनि सहयोगको अपेक्षा राखिन्छ भने जनतालाई भ्रममा पार्न खोजिने प्रयास गरिन्छ भने त्यो भिक्षा मात्र हुनेछ, त्योभन्दा ठूलो  राष्ट्रघात अर्को हुने छैन । हाम्रो राष्ट्रियता र देश प्रेमको कथा सबै नाङ्गो भइसकेको छ । मुलुकले अब सबैलाई भोलिका दिनमा व्यवहारमा कसी लगाउन मात्र बाँकी छ ।

प्रतिक्रिया