धनकुटा १७ कात्तिक । धनकुटामा सञ्चालन भइरहेको बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा मंगलवार बिभिन्न रोगका ३० जना बिरामीको शल्यक्रिया गरिएको छ । १७ जना बिरामीको जटिल सल्यक्रिया गरिएको छ भने १३ जना बिरामीको सामान्य सल्यक्रिया भएको शिविर आयोजक समितिले जनाएको छ ।
त्यस्तै ५४ जना दातका बिरामीको उपचार गरिएको शिविर सुचना, संचार तथा प्रचार समिति संयोजक खगेन्द्र घिमिरेले बताए । शिविरमा यसअघि एक सय ६७ जना बिरामीको शल्यक्रिया भईसकेको छ । जसमध्ये ८९ जना बिरामीको जटिल र ७८ जना बिरामीको सामान्य शल्यक्रिया भएको छ । शिविरमा यसअघिनै दातको समस्या भएका दुई सय १९ जनाले उपचार पाइसकेका छन । त्यस्तै एकजनालाई कृतिम हात पनि लगाईएको छ । शिविरमा सोमवार सम्म एक हजार चार सय ६९ जना बिरामीले उपचारका लागि नाम दर्ता गराएका छन ।
गरिव, असाहय र पहुचविहीनहरूलाई लक्षित गर्दैै अलोहवा मेडिकल मिसन अमेरिकाको सहयोगमा कात्तिक २१ गतेसम्मका लागि शिविर सञ्चालन गरिएको हो । बिरामीको शल्यक्रियाका लागि अमेरिकालगायत विभिन्न देशबाट आएका बिशेषज्ञ डाक्टरहरू सहितको ४६ सदस्य स्वास्थ्यकर्मीको टोली खटिएको छ ।
शिविरमा शरीरका गाठागुठी, कोठी, छाला टासिएको, हर्निया, हाइड्रोसिल, पित्तथैलीको पथरी, मुत्र थैलीको पथरी, मेजर पाईल्स, पाठेघर झरेको, पाठेघरमा मासु पलाएको, खुडे, आगोले पोलेको र छाला टाँसिएका बिरामीहरूको सल्यक्रिया भईरहेको छ ।
प्रतिक्रिया