मोदीज्यू यसपालि त मनै फाट्यो

bijaya silwalहाल नेपालको परिस्थिति केही असहज छ । नेपाली मनमा पेट्रोलियम पदार्थ, ग्यास, डिजेल रोजी रोटी जिविका, नाकावन्दी, सहज आपूर्ति, कूटनीतिक प्रयास यस्तै–यस्तै कुराहरूले प्रभाव पारेको छ । अप्ठ्यारो छ । नेपाली मन अशान्त छ । भविष्यप्रति चिन्तित छ । तर, निराश छैन । पलायनवाद पनि छैन । यिनै परिस्थितिमा यो लेखिएको छ । तसर्थ यो कुनै प्राज्ञिक लेख होइन । यो कुनै अनुसन्धानात्मक लेख पनि होइन । अत्यन्त गहन विषयमा ज्यादै संवेदशील गंम्भीर भएर लेख्न खोजेको लेख पनि होइन । मनमा केही कुराहरूले छोयो । च्वास दुख्यो । त्यसकै प्रतिक्रिया हो ।

यो फरियादपत्र पनि होइन । अनुनय विनय पनि होइन । कसैलाई दोष दिने उद्देश्यले लेखेको लेख पनि होइन । राजनीतिलाई ज्यादै कठोर कटु स्वार्थयुक्त खेल मान्नेहरू थुप्रै छन् । तर, राजनीति भन्नेको दुःखले भरिएको आँखाको आँसु पुछ्ने काम हो । निराश मनलाई उत्साह, उमङ्ले भरेर सकारात्मक सोचका साथ अघि बढ्ने प्रेरणा दिने गीत हो । दुखेको मनमा औषधि लगाउने हो । ओठहरूमा मुस्कान ल्याउने सङ्गीत हो । जीवनलाई आशा नै आशाले भरिएको ठान्ने विश्वासको उज्यालो हो । भिर पहिरोमा सुरक्षित यात्रा गर्न सक्ने बाटो हो । नदी झरनाको कलकल हो । फूलको सुगन्ध हो । सधँै जीवन दिने विहानीपखको निर्मल हावा हो । स्वार्थ, सत्ता, मारकाट, हत्या, लुट, हिंसाले भरिएको कुनै पनि धर्म, राजनीति मानवीय हुनै सक्दैन ।

अरुको मन दुखाएर गरिएको बन्द, हड्ताल, बहिस्कारजस्ता आन्दोलनले कहिल्यै पनि आशिर्वाद, शुभेच्छा पाउन सक्दैन । डरले सवै मेरै समर्थक हुन् भन्ने भान हुनसक्छ । कसैलाई लाग्न सक्छ । तर, मुल कारण डर र त्राश नै हो । डर र त्राशको भरमा भएको बन्द, बहिस्कारलाई विजय ठान्नेहरू हुन सक्छन् । दुर्गन्धित लाशलाई पराजीत गरेको घमण्ड हुन सक्छ । तर, सामाजिक सत्य के हो भने हत्या, हिंसा, डर, त्राशले आजसम्म कसैले केही पाउन सकेको छैन । मन जित्न सकेको छैन । समर्थन पाउन सकेको छैन । यस्तै परिघटनामा घोत्लिदै जाँदा मनमा एउटा छाप प¥यो । राम्रो लाग्यो । लोभ्यायो आशा पलायो । तरङ्ग चल्यो । उमङ्ग छायो । हौसला र विश्वास बढ्यो । तर, छाप नै गलत भएको बोध भएपछि जब कुनै व्यक्ति पीडादायी अवस्थाबाट गुज्रिन्छ त्यसै अवस्थाको व्यथाको यो लेख हो ।

भारतका नव निर्वाचित प्रधानमन्त्रीको रुपमा गरिएको शपथ ग्रहण कार्यक्रम आफैँमा अविस्मरणीय थियो । छिमेकी मुलुकबाट प्रतिनिधिहरूलाई समेत सामेल गरियो । जो कुटनैतिक दृष्टिकोणले अति विशिष्ट व्यक्तित्वहरू थिए । राष्ट्र प्रमुख, सरकार प्रमुख प्रतिनिधि आदि–आदि । कुनै भव्य समारोह, अविस्मरणीय विवाहको, चाडपर्वको, मुलुकको मुख्य राष्ट्रिय चाडपर्वको क्षण जस्तै । कुनै गाउँको ठूलो जमिन्दार (सामन्त) को छोरा वा छोरीको विहे जस्तो । सम्पूर्ण दक्षिण एसियाकै अविस्मरणीय चाड जस्तै भयो । प्रतिनिधि जान प्रतिस्पर्धा जस्तै भयो । भारतका राजनैतिक दलका प्रमुखहरू उद्योगपति, खेलाडी, सिने कलाकार साधु सन्त आदि–आदिहरूको भव्य मेला नै थियो । विश्वजनमत सँगसँगै नेपालका जनताहरूले पनि दृश्यावलोकन गरे । पुरा नामले भन्दा पनि “मोदी”को नामले ज्यादै प्रख्यात भए । जादुमयी व्यक्तित्वको छाप मोदीले छाड्न सफल भए । तिनै मोदी नेपालको भ्रमणमा आए । भारतको प्रधानमन्त्रीको रुपमा नेपाल भ्रमण धेरै वर्षपछि हुँदै थियो । सवै नेपालीलगायत विश्वका अन्य मुलुकका जनताहरूको चाँसो स्वभाविक रुपले बढेको थियो । नेपाली जनताको मुटुको चाप धेर–थोर भए पनि बढेकै थियो । मोदी आए । व्यवस्थापिका संसादमा उनले “भाषण” दिए । हुनत त्यति बेलाका अभिव्यक्तिहरू भाषण जस्ता थिएनन् । कुनै कलाकारको अमर कृतिको रचना जस्तो । कुनै साहित्यकारको अमर रचनाजस्तो । कुनै संगीतको मुटुनै छुने खालको प्रभाव जस्तो । कुनै खोला झरनाले सृजना गरेको गीतसंगीत जस्तो । “आग्रह” राख्ने वा नराख्ने जम्मै खालेहरूले मोदीका अभिव्यक्तिहरू ध्यान दिएर सुने ।

अनुहारमा मुस्कान सहित थुप्रैपटक तालीहरू बजे । जोडदार रुपमै बजे । अध्यारोपन, रिस, द्वेष सभासद्लगायत आमनेपालीको अनुहारमा थिएन । उज्यालो नै थियो । बुद्ध नेपालमै जन्मेको कुरादेखि अर्वाैं रुपैंयाको सहयोगको कुरासम्म, नेपाल–भारत सम्बन्धका विभिन्न आयामहरूदेखि निर्माण हुन लागेको संविधानसम्मका कुराहरूले नेपाली मनलाई साह्रै छोयो । जादु नै गरे जस्तो भयो । सम्पूर्ण नेपाल “मोदीमय” नै भयो । जनक, सीता आदिका प्रसङ्ग फूलमालाका फूलको प्रसङ्ग दाह्री भएका मोदीलाई नेपाली मनले “ऋषि” देख्यो । कुनै त्यागी सन्तको सम्झनानै दिलायो । नयाँ युगको सुभारम्भ हुन आँटेको भान दियो । कहाली लाग्दो, डर लाग्दो रात्रीपछि जीवनको आशा बोकेको विहानीपखको सूर्याेदय हुन आँटेको भान दियो ।

जीवनप्रति आशा विश्वासको भावना जागृत भएको बोध गरायो । नेपाल, दक्षिण एसिया मात्र नभई विश्वकै परिप्रेक्ष्यमा एउटा नेताको उदय हुन आँटेको हो कि जस्तो भयो । नेपालको सन्दर्भमा भारतले मनका सबै कुराहरू छताछुल्ल भएर पोखेको जस्तो भयो । परापूर्वकालले व्रिटिशकाल, मुक्तिपश्चात् स्वतन्त्र भारतको काल संक्षेपमा सन् १९५० देखि मोदी प्रधानमन्त्री नहुँदासम्म जेजति त्रुटिहरू भए त्यसको सिंहावलोकन गर्ने युगको थालनी हुने सङ्केत देखा प¥यो ।

नेपाल, भारत सम्बन्ध नयाँ “मोदी” युगमा प्रवेश हुने सङ्केतका रुपमा बुझ्न थालियो । अत्यन्त थोरै नेपालीका मन त दुखे तर आमनेपालीको मन हर्षित भयो । गान्धीको लठ्ठी नेहरूको कोटको रातो गुलाफको फूल जस्तै निलो ज्वारी कोटले पनि संसारलाई प्रभावित पा¥यो । मोदी र निलो ज्वारीकोटको लहर नै चल्यो । नेपालदेखि युरोप अमेरिकासम्म निलो ज्वारीकोटको लोकप्रियता धावक Bolt को दौड, गुलाम अलिको गजल, पेलेको फुलवल कौशल सबैलाई सम्झाउँदै गयो । स्व. नारायण गोपालले गाएको गीत “फूल भन्नु किन जुन भन्नु” को सम्झना दिलायो । मन मोदीमन बन्न पुग्यो । राजनीतिक दल नेता, विश्लेषक उद्योगपति, व्यापारी आदि आदि लगायत सबै जसोले चर्चा गर्न थाले । नेपाली सञ्चारका विभिन्न माध्यमहरू मोदीमय नै भए । लाग्यो अव केही हुन्छ ।

त्यो राम्रै नै हुन्छ । तर, के भो के भो । फूलहरू ओइलाउन थालेको जस्तो हुन थाल्यो । मुस्कानहरू खुम्चिन थाले । अनुहारहरू आश्चर्यचकित हुनथाले । व्यवस्थापिका संसदमा व्यक्त गरेका संगीतमयी अभिव्यक्तिहरू कर्णप्रिय लाग्न छाडे । जादुमयी व्यक्तित्वको जादुको रहस्य खुल्न थालेको जस्तो हुन थाल्यो । कहीँ कतै खतराको संकेत देखा न परेको हवाइजहाज वेस्सरी हल्लिन थाल्यो । दुर्घटनाको सम्भावना देखा पर्न थाल्यो । आपतकालिन सङ्केत देखा पर्न थाल्यो । दुर्घटना नहोस् भनी सबैले प्रार्थना गर्न लागे । दुर्भाग्यवस जहाज ठोकिन्न पुग्यो । नोक्सानीको हरहिसाब भएको छैन । दुर्घटना ग्रस्त भागको क्षति भएता पनि अरु क्षतिको हर हिसाब भएको छैन । तर, दुर्घटना भएकै हो । मन ज्यादै अशान्त भएकै हो । अनेक थरिका विचारहरू मनमा आएकै हो ।

सिसा ज्यादै राम्रो कुरा हो । त्यसबाट ऐना पनि बनाइन्छ । ऐनाले कसैलाई प्रतिनिधित्व गर्दैन । उसले आफैंलाई मात्र प्रतिनिधित्व गर्छ । जस्तो छ त्यस्तै रहन्छ । गुण आदिले ऐनाहरू फरक–फरक हुन सक्छन् । तर, सारमा ऐनाले आफ्नो मात्र प्रतिनिधित्व गर्छ । कसैको अनुहार राम्रो वा नराम्रो प्रतिनिधित्व गर्दैन । जसको जस्तो अनुहार छ ठीक त्यही रुपमा प्रतिविम्वित गर्छ । त्यसकारण अनुहार राम्रो वा नराम्रो कुरा ऐनामा भर पर्दैन आफैंमा भर पर्छ । शिशा भाँचियो ज्यादै नराम्रो गरि टुक्राटुक्रा हुन्छ । नेपाली जनताको मनको ऐनामा मोदीको चित्र अलौकिक सन्तजस्तो अङ्कित भयो । ऐनामा धुलो लाग्न सक्छ ।

सफा गरे फेरी उस्तै भइहाल्छ । धुलो लागेको हो कि जस्तो थियो । सफा हुन नपाउँदै अचानक तल झरेर फुट्यो कि जस्तो भयो । शिशा त फुटेन तर, चित्र विचित्र भयो । भारत आफैँमा देश भएता पनि थुप्रै कारणले आफैँमा “महादेश” पनि हो । बंगालको कुनै कुनामा दसैँ वा दुर्गापूजा कुनै कारणले मनाउन नपाउँदा नेपालीको मात्र होइन संसारभरिकै मानिसको चित्त दुख्छ । विहारमा छठ मनाउन नपाउँदा छठ मान्ने संसारभरिकै मान्छेको चित्त दुख्छ । दिपावली होस् वा गणेश पूजा वा शिवरात्री सबैमा कथा यही नै हो । इद, वक्रइदको खुशी मनाउँदा नेपालीको मन पनि खुशी नै हुन्छ । तर, हाल देखा परेको स्थितिले अपवाद स्वरुप केही व्यक्ति बाहेक, नेपालीको मन दुखेको छ मोदीज्यू ।

“हो सके तो किसीका दर्दले उघार” भन्ने मान्यता संस्कृतिमा हुर्केको मन छ । पाहुनालाई देवता मानिन्छ । कुनै पनि डाक्टरले रोगीको धर्म अनुसार उपचार अपरेशन गर्दैन । रोग अनुसार गर्छ । मानवीय धर्म पनि त्यही नै हो । पेशागत नैतिकता पनि त्यही नै हो । संविधान निर्माणपश्चात चिसो प्रतिक्रिया आयो । कुटनीतिक रुपमा यो ज्यादै अकुटनीतिक प्रतिक्रिया थियो । तर, पनि निर्वाचित भएकोमा तुरुन्त बधाइ आउँछ । मूलुकमा आउनका लागि तुरुन्तै निमन्त्रणा पनि आउँछ । तर, करोडौं व्यक्तिको मन दुखेको चालनै पाउँदैन कस्तो मन होला त केही बाहेक आमजनतासँग दुःख दिइ राखेकाहरूलाई “जनप्रतिनिधि” ठान्ने कस्तो विवेक होला ।

कस्तो ठहर होला । वीरगञ्जबाट कुनै विदेशीले रक्सौलमा ढुङ्गा हान्दा भारतलाई मन दुख्छ कि दुख्दैन ? नेपालले आफ्नै भूमिमा खाना खुवाएर ढुङ्गा हान्न लगाउँदा भारतलाई कुनै तानसेनको संगीतजस्तो लाग्छ कि ? यदि त्यस्तो होइन भने के नेपाललाई नारायण गोपालले गाएको गीत जस्तो हुन्छ त ? मोदीजी विचार गर्नुस् । लाखौंलाख नेपालीको मनमात्र होइन विश्वभरिकै करोडौं करोडौं व्यक्तिहरूका आँखाहरू रसाएका छन् । मन दुखेको छ । दसैं, दिपावली छठप्रति उत्साह छाएको छैन । यो उदेक लाग्दो स्थिती छ । मोदीजी एउटा उखान सम्झनुहोस् “Try to be a saint but do not act like a saint” तपाईलाई थोरै पनि दुखेको नेपाली मनको दुःखले छोयो भने पनि यो लेख सार्थक हुनेछ । एउटा नेपालीलाई सन्तान बनाएर संसारलाई देखाएको कुरा छल र स्वाङ नबनोस् । परिवार र छिमेकीलाई विवेकशुन्य तर्करहित ढङ्गबाट मन दुखाउनेले विश्वविजयीको कल्पना नगरे हुन्छ ।

भइ हाल्यो भने पनि सुखी हुँदैन । स्थायी हुँदैन । टिकाउ हुँदैन । झारखण्ड, तेलाङ्गना स्वतन्त्रतापश्चात बनेका राज्यहरू हुन् । भारतीय स्वतन्त्रताकै दिन भएका राज्यहरू होइनन् । भारतीयले यो कुरा बुझेका छन् । तर, भारतमा जन्मेर अन्य मुलुकको नागरिकता लिएकाहरूलाई यो कुराको हेक्का छ, छैन भन्न सकिदैन । कुन स्वार्थका लागि भारतीय भूमिबाट नेपालमा ढुङ्गा हानिएको छ । मित्र राष्ट्र चीनको झण्डा नेपालमा जलाइएको छ । यी सबै कुराहरूले राम्रो स्थिति सृजना गरेको छैन । मोदीज्यू “The Emperors’ New Clothes” को स्थिति छ । अन्तमा नजिकिँदै गइ राखेको भाइटीका, छठ, दिपावली आदि पर्वहरूको शुभकामना छ तपाइ र भारतलाई । सम्पूर्ण नेपालीलाई कुनै क्षणमा पनि कसैले भन्न नपरोस् “यसपालि त मनै फाट्यो मोदीज्यू केले सिउने केले टाल्ने हो ।”

(सिलवाल, त्रिविका प्राध्यापक एवम् राजनीतिशास्त्र समाज नेपालका अध्यक्ष हुन् ।)

प्रतिक्रिया