रूपन्देही, १८ असोज । संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको बन्दका कारण जिल्ला सदरमुकाम भैरहवादेखि पूर्व–पश्चिम चल्ने यातायात ५० दिनदेखि ठप्प हुँदा व्यवसाय नै चौपट बन्दै गएको छ ।
यातायात बन्द हुँदा व्यवसायीहरू नराम्ररी प्रभावित भएका छन् भने त्यसको प्रत्यक्ष मार सर्वसाधारणले समेत खेप्नुपरेको छ । त्यसमा सदरमुकामदेखि उत्तर–दक्षिण संचालित यातायातहरू संचालनमा आए पनि पूर्व–पश्चिममा चल्ने यातायात पूर्ण रूपमा बन्द छन् । जसका कारण अहिले रूपन्देही समरमुकाम भैरहवादेखि छुट्ने सिद्धार्थ यातायात व्यवसायी समितिसँग आबद्ध साढे एक सय मध्यनेपाल नवलपरासीसँग आबद्ध २० र पश्चिम नेपाल, बुटवलका ४० बढी यातायात ठप्प छन् ।
लामो समयसम्म बन्द जारी रहीरहँदा यातायात व्यवसायीमात्र नभै त्यसको प्रत्यक्ष मारमा मजदुरसमेत परेका छन् । जसका कारण सिद्धार्थ यातायातमा मात्रै काम गर्ने करिब साढे चार सय, मध्य नेपालमा काम गर्ने करिब एक सय र पश्चिम नेपालमा काम गर्ने डेढ सय मजदुरहरू मर्कामा छन् । उनीहरूसँग आश्रित परिवारको जीविकोपार्जनलाई पनि नराम्ररी प्रभावित पारेको छ ।
राजमार्ग र जिल्लाका अन्य क्षेत्रमा सवारी–साधन सञ्चालनमा रहे पनि विशेषतः मधेसीमोर्चाको पकड क्षेत्र मानिने सदरमुकामको पश्चिमी क्षेत्र विश्व पर्यटन केन्द्र लुम्बिनी, मर्चवार, सूर्यपुरा, अमुवा, फर्साटिकर र कपिलवस्तु तथा पूर्वी क्षेत्र परासीका विभिन्न ठाउँमा चल्ने सार्वजनिक यातायात पुरै ठप्प भएका हुन् । जसले गर्दा यी क्षेत्रमा यातायात संचालन गरेका व्यवसायीहरू चैपट भएका छन् । उनीहरूको रोजीरोटी नै खोसिएको छ । तर, सदरमुकामदेखि दक्षिणी क्षेत्र सीमानाका बेलहिया र उत्तरी क्षेत्र बुटवल, पाल्पालगायतका ठाउँमा सञ्चालित यातायात एक साता बन्द भए पनि पछिल्लो समय निर्वाध रूपमा सञ्चालनमा छन् । बन्द अवज्ञा गरेको निहुपारी अहिलेसम्म सिद्धार्थ यातायातका १० वटा, मध्य नेपालका ८ वटा र पश्चिम नेपालका पनि केही मात्रामा गाडीहरू तोडफोड भएका छन् । जसले गर्दा यातायात संचालन नहुँदा भोगिरहेको क्षतिमा तोडफोडको क्षति पनि थपिएको छ ।
यातायात बन्द हुँदा विश्व पर्यटनको केन्द्र मानिने लुम्बिनी झनै प्रभावित छ । बन्दका कारण यातायात सञ्चालन नहुँदा आन्तरिक तथा बाह्य पर्यटन पुग्न सकेका छैनन् । जसले गर्दा प्रत्यक्ष असर यातायात क्षेत्रसँगै पर्यटन क्षेत्रमा पनि परेको देखिन्छ ।
पछिल्ला केही वर्षयता पक्की सडक भएका ठाउँमा रात्रि बस, मिनी बस र जिल्लाका ग्रामीण सडकमा जिपहरू तथा मिनीबसहरू चल्न थालेपछि यात्रुलाई पनि सुविधा र व्यवसायीलाई मुनाफा हुनुका साथै यातायात व्यवसायमा पनि लगानी बढ्दै गएको थियो ।
जुनसुकै विषयको पनि माग राखेर आन्दोलन हुँदा सबैभन्दा पहिले आन्दोलनरत पक्षले सडक अवरुद्ध गर्छन् । पछिल्लो पटक संघीयताको विषयलाई लिएर सदरमुकाम आसपासमा भएको संयुक्त मधेसी मोर्चा र थरूहट पक्षधरको लगातारको बन्दको मारमा सबैभन्दा बढी यातायात व्यवसायी नै परेका छन् । बन्दको चपेटामा परेका व्यवसायीलाई त्यसैमाथि भारतले नाकाबन्दी गर्दा आंशिकरूपमा सञचालनमा ल्याएका यातायात पनि इन्धन अभाव हुँदा घरमै थन्काएर राख्ने अवस्थामा आएका छन् । जोखिम मोलेर गाडी चलाउन नसकिने, यदि गाडी चलाउन खोजे पनि डरका कारण त्यति यात्रुहरू सवार नहुने व्यवसायीहरूको गुनासो छ ।
सिद्धार्थ यातायात व्यवसायी समितिका अध्यक्ष सूर्यकुमार सारु बन्दका कारण समयमै ब्याज नबुझाउँदा र किस्तामाथि किस्ता थपिँदा व्यवसायीहरूलाई बैंकको ऋण तिर्न समस्या भएको बताउँछन् । लगातारको बन्दले व्यवसायी धरासायी बन्दै गएपछि अहिले यातायात सुचारु भएका ठाउँहरूमा प्रभावित क्षेत्रका यातायातलाई पनि रोटेसनमा संचालनमा ल्याएको सारु बताउँछन् ।
उनी थप्छन्, ‘हामीले पटक–पटक सिडिओ, प्रहरी प्रमुखलाई पूरै ठाउँमा नसके पनि विश्व पर्यटन केन्द्र लुम्बिनीसम्म भए पनि यातायात सञ्चालन गर्नका लागि आग्रह ग¥यौँ तर प्रशासनले हाम्रो माग सुनुवाई गरेन ।’ उनले बन्दकर्तालाई बन्दको विकल्प खोज्न आग्रह गर्दै भने, ‘एकदिने बन्दले पनि लोकलस्तरमा सञचालित यातायातमा दैनिक दुईदेखि तीन लाख भन्दा बढी घाटा हुन्छ, जसले गर्दा व्यवसायीसँगै सरकारलाई पनि ठूलो क्षति हुन्छ, त्यसैले बन्दको विकल्प खोजौँ, कुनै बाहनामा बन्द नगरौँ ।’
प्रतिक्रिया