भैरहवा, १८ असोज । एमाओवादी पार्टी परित्याग गरेर तराई मधेसको आन्दोलनलाई समर्थन गर्दै हिँडेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई आइतबार रूपन्देही आएका छन् । रूपन्देहीको पूर्वी क्षेत्र धकधईमा आयोजित संघीय मधेसी मोर्चा र थरुहट संघर्ष समिति रूपन्देहीले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले आफु आन्दोलनमा ढिला आएता पनि सहिरूपमा आएको दाबी गर्दै भने ‘में देर से आया दुरुस्त आया‘ हिन्दी र नेपाली दुवै भाषामा भाषण गरेका नेता भट्टराईले तराई मधेसमा चलिरहेको आन्दोलनलाई राज्यले सम्बोधन गर्नुपर्ने जनाउँदै आपूm आन्दोलनकारीको साथमा रहेको समेत बताए । विगत डेढ महिनादेखि चलिरहेको आन्दोलनलाई राज्यले बेवास्ता गर्नु गलत भएको जनाउँदै नेता भट्टराईले सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
विद्यानाथ यादवको अध्यक्षता सम्पन्न सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीजस्तो गरिमामय पदका लागि टेन्डर खोलेर दलहरूले राष्ट्रको बेइज्जत गरेको जनाउँदै भने, ‘दलहरूले राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री जस्तो पदमा टेन्डर शैलीमा पदपूर्ति गर्न खोज्दै छन् । यो अत्यन्तै राष्ट्रघाती काम हो ।’ डा. भट्टराईले तराई मधेसमा अधिकार प्राप्तिका लागि आन्दोलन गर्नेहरू भन्दा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीको टेन्डर खोल्नेहरू राष्ट्रवादी कदापि हुन नसक्ने जिकिर गरे ।
उनले लोकतान्त्रिक उपलब्धिलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेन्डाले नसक्ने भएको हुदाँ नयाँ एजेन्डासहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको समेत बताए । उनले भने ‘हिजोको पुरानो शक्तिले अब काम गर्न सक्दैन, त्यसैले नयाँ शक्ति निर्माण गर्ने ध्येयका साथ मैले पुरानो पार्टी परित्याग गरेको हुँ । सबैको सल्लाह लिएर त्यो शक्ति कस्तो हुन्छ कसरी निर्माण गर्ने भन्ने मेरो सोच छ । हो, त्यसैले मैलै पुरोनो पार्टी भत्केको घर छोडेर आएको हुँ ।
‘पार्टीहरू आवश्यकताअनुसार बन्छन्, आवश्यकताअनुसार भत्किन्छन् पनि र अब हामी नयाँ युगमा प्रवेश गर्दै छौँ, एकिकृत माओवादी पार्टी पनि अब पुरानो अवस्थामा रहेन ।
पार्टीको एजेन्डा पनि पुरानो बन्यो, त्यो अब एउटा भत्केको घरसरह भइसक्यो, भूकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाअवोदी पार्टीमा पनि रेड स्टिकार लागेको छ र त्यो रेड स्किटर लागेको घरमा बस्न जोखिमपूर्ण भएका कारण पार्टीबाट बाहिरिहेको हुँ,’ उनले भने । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो सर्मथन रहेको बताउँदै आन्दोलन अझै पूरा भइनसकेको बताए ।
भट्टराईसँगै आएका नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा र हिसिला यमीले पनि मुलुकको विकास र निकासका लागि सबै एक हुनुपर्नमा जोड दिएका थिए । नेता भट्टराई धकधईको कार्यक्रमलाई सम्बोधन गरिसकेपछि आइतबार नै पश्चिमतर्फ गएका छन् । धकधईमा आयोजित कार्यक्रममा हजारौँ जनसहभागिता रहेको थियो । सभामा आन्दोलनका क्रममा घाइते भएका आन्दोलनकारी र सहिद परिवारलाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया