रौतहट, १४ असोज । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले भारतलाई छिमेकी देशसँगको सम्बन्धमा अपरिपक्व किसिमले नचल्न आग्रह गरेका छन् ।
गृह जिल्ला रौतहटको चन्द्रनिगाहपुरमा आयोजित पार्टी कार्यकर्ता भेलालाई बिहीबार सम्बोधन गर्दै नेता नेपालले जनमत नभएका १÷२ वटा पार्टीको इशारामा ३ करोड नेपाली जनतालाई भारतले दुःख दिन नमिल्ने बताए ।
अहिले भारतले नेपालमा नाकाबन्दी नगरेको भनेर विश्वलाई ढाँटे पनि व्यवहारमा उसले नाकाबन्दी नै गरेकोले तत्कालै नाकाबन्दी हटाउनसमेत उनले आग्रह गरे । नेपालले कहिल्यै पनि भारतको आन्तरिक मामलामा केही नभनेको बताउँदै उनले भारतले पनि नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्न नहुने बताए । मधेसवादी दलहरूले जनताको समर्थन नपाएपछि भारतलाई गुहारेको आरोप लगाउँदै नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा जसरी नेपालीको मन जितेका थिए त्यसैगरी अहिले पनि सम्पूर्ण नेपाल र नेपालीको मन जित्न भारतलाई आग्रह गरे ।
संविधान जारी भएपछि पहिलोपटक आफ्नो गृह जिल्ला आएका नेता नेपालले वर्तमान संविधानमा कसैले अधिकार नपाएको भन्नु संविधान नै नपढी कान समात्न छाडेर कागको पछाडि दौडिएको टिप्पणी गरे । उनले दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नो सिट संख्या ह्वात्तै घटेपछि तिलमिलाएका मधेसवादी दलहरूले जति सक्दो चाँडो अर्को निर्वाचन गराएर आफ्नो गुमेको वर्चस्व कायम राख्न मधेसी जनतालाई भ्रम पैmलाएकोसमेत बताए । यो संविधानमा कहाँ, कुन धारा मधेस विरोधि छ ? देखाउन चुनौति दिँदै नेता नेपालले नक्कली कुरा गरेर जनतालाई नभड्काउनसमेत आग्रह गरेका छन । विश्वको कुनै पनि देशको संविधानभन्दा हाम्रो संविधान बढी समावेशी र समानुपातिक रहेको चर्चा गर्दै उनले अंगिकृत नागरिकलाई विश्वका कुनै पनि देशमा सबै अधिकार नदिइएको र नेपालमा पनि दिन नहुने बताए । उनले यस्तो व्यवस्था गरिएमा वास्तविक नेपालीहरू नै बढी पीडित र अधिकारबिहीन हुने समेत बताए । आन्दोलनरत मधसी मोर्चालाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न आग्रह गर्दै उनले वार्ताको वातावरण बनाउन मधेसवादी दललाई अनुरोध गरे । मानिसको हत्या गरेर, आक्रमण गरेर, सरकारी कार्यालय र पार्टी कार्यालयहरू आगजनी गरेर, हतियारसहित प्रदर्शन गरेर वार्ताको वातावरण नबन्ने नेपालले बताए ।
पार्टी कार्यकर्ता भेलालाई नेकपा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य तथा सांसद डा. वंशिधर मिश्र, एमाले केन्द्रीय सदस्य वलदेव चौधरी, रौतहट क्षेत्र नं ६ का सांसद रामकुमार भट्टराई, सांसद लालबाबु यादव तथा पूर्वसभासद सरला यादवले पनि संवोधन गरेका थिए ।
प्रतिक्रिया