काभ्रे, १४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसका कारण भारतले अघोषित रूपमा नाकाबन्दी गरेको बताएका छन् ।
काभ्रेको धुलिखेलमा केन्द्रीय आदिवासी जनजाति विभागद्वारा आयोजित ३ दिने अनुशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष थापाले २ दलले निर्णय लिन नसक्दा भारतले नाकाबन्दी गरेको बताएका हुन् । उनले सत्तारूढ दलले खेल्नुपर्ने भूमिका कांग्रेस एमालेले खेल्न नसकेको समेत टिप्पणी गरे । ‘नाकाबन्दीबाट गरेको हस्तक्षेपले विगतमा सप्रेको नेपाल–भारत सम्बन्धलाई असर गर्न सक्छ’, अध्यक्ष थापाले भने, ७ दशकदेखिको जनताको चाहना पूरा भएको अहिलेको यो परिस्थितिले नेपाल–भारत संबन्धमा चिसो देखिने खतरा भयो ।’
अहिलेको समस्यालाई सरकारले कुटनीतिक तबरबाट समाधान गरिनुपर्नेमा जोड दिँदै अध्यक्ष थापाले नाकाबन्दीबारे मिडियाबाजी र भाषण धेरै र बढी भएको बताए । संविधान निर्माण अघिदेखि नै विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका मधेसी नेताको समस्या नेपालका राजनीतिक दलले वार्ता र संवादबाटै गर्नुपर्छ थापाले भने तर भइसकेका सहमतीबाट पछि हट्न मिल्दैन ।
मधेसमा रहेको समस्या आन्तरिक मामिला भन्दै अध्यक्ष थापाले मधेसवादी दललाई सरकार र शीर्ष दलको कुरा सुनेर वार्तामा आउन आग्रह गरे । उनले शीर्ष दलले पनि मधेसी दलसँग वार्ताका लागि तदारुकता देखाउनुपर्ने बताए । ‘मधेसको समस्या हाम्रो आन्तरिक मामिला हो’, उनले भने, ‘अंगिकृत आधारमा नागरिकता पाएकाहरूलाई राष्ट्रपति र प्रधामन्त्रीजस्ता मूख्य पद दिनु हुँदैन र मिल्दैन ।’
अध्यक्ष थापाले संविधान जारी भएको परिस्थितिमा ३ दलले मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए । उनले शीर्ष दलले मिलेर संविधान ल्याएकाले अहिले पनि उनीहरू मिलेर अघि बढे देशले स्थिरता पाउने उल्लेख गरे । उनले कांग्रेस एमालेले तराईको राजनीतिक मुद्दालाई वार्ता र सहमति मै सल्टयाएको भए नाकाबन्दीको समस्या नआउने तर्कसमेत गरेका छन् ।
प्रतिक्रिया