ताप्लेजुङ, १३ असोज । ताप्लेजुङ हुँदै उत्तरी छिमेकी चीनसँगको व्यपार सहज गर्न अझै ६१ किलोमिटर सडकको ट्र्याक खोल्नुपर्ने देखिएको छ । भारतले अघोषित नाकाबन्दी गरेको र चीनबाट दैनिक उपभोग्य सामग्री ल्याउने चर्चा चलिरहेका बेला निर्माणधीन उत्तर–दक्षिण लोकमार्गको भने ४१ किलोमिटर मात्र सडकको ट्र्याक खोल्ने काम सकिएको उत्तर दक्षिण लोकमार्ग आयोजनाले जनाएको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलबाट लिङखिम हुँदै ओलाङ्चुङगोलासम्म जोड्ने मोटरबाटोको निर्माण कार्यको बजेट क्रमशः घट्दै गएपछि सडक निर्माणले गति लिन नसकेको हो । ०६६ सालबाट निर्माण सुरु भएको उत्तर दक्षिण लोकमार्ग आयोजनाको काम दुई सालअघिबाट सुस्त देखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर कुबेर नेपालीले लोकमार्गका लागि हरेक वर्ष बजेट घट्न थालेपछि निर्माण कार्यसमेत प्रभाव परेको जानकारी दिए । आयोजनाका अनुसार निर्माण सुरु भएको वर्ष यो लोकमार्गका लागि १२ करोड बजेट विनियोजन भएकोमा अघिल्लो वर्षबाट तीन करोड हाराहारीमा झरेको छ ।
सिडिई नेपालीले थिवा भीरको ट्र्याक खोलिसकिएको र भनेअनुसार बजेट हुने हो भने ओलाङ्चुङगोलासम्म सडक पु¥याउन कठिन नपर्ने जानकारी दिए । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपालको सीमा नाका रिउ बजारसम्म मोटरबाटो जोड्ने कार्य सकिन लागेको बेला यो मार्गलाई विस्तार गर्न प्रशस्तै बजेट विनियोजन भए ओलाङ्चुङगोला हुँदै टीपताला भन्ज्याङबाट सोझै नेपाल–चीन सम्बन्ध स्थापित हुन सक्ने सिडिई नेपालीको भनाइ छ ।
त्यसो त अहिले पनि उत्तरी ताप्लेजुङका आधा दर्जन बढी गाविस रिउ बजारमै निर्भर छन् । सरकारी कामकाजीबाहेक दैनिक उपभोग्य सामग्रीका लागि सीमा क्षेत्रका बासिन्दाको मुख्य बजार तिब्बतको रिउ नै हो । सदरमुकामभन्दा सस्तोमा सामग्री पाइने भएकाले रिउ बजारमा त्यस क्षेत्रका बासिन्दा निर्भर बनेका हुन् ।
माथिल्लो क्षेत्रमा गलैँचा, घ्यु र छुर्पी मुख्य रूपमा उत्पादन हुँदै आएको छ भने स्थानीय जडिबुटीसमेत कारोबार तिब्बती बजारमा गरेर सीमा क्षेत्रका बासिन्दाले त्यहाँबाट उपभोग्य वस्तु आयात गर्छन् ।
अहिले उक्त लोकमार्गको सुकेटारबाट लिङ्खिमको थिवा बजारसम्म हिउँद याममा यातायात सञ्चालन भइरहेको छ । बजेटलाई प्राथामिकतामा राखेर चीनसँगको व्यपारिक नाका स्थापित गर्न पहल थाल्न ढिला गर्न नहुने यस क्षेत्रका बासिन्दाको भनाइ छ ।
प्रतिक्रिया