रूपन्देही, १२ असोज । सोमबार दिउँसोदेखि लुम्बिनी अञ्चलभर भारतीय न्युज च्यानल बन्द भएका छन् । नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले केबल सञ्चालकलाई पत्र लेखी ६ घन्टाभित्र भारतीय न्युज च्यानल र सिरियल च्यानल बन्द गर्न आग्रह गरेको थियो ।
अखिलका जिल्ला अध्यक्ष सन्दीप विकद्वारा हस्ताक्षर गरी पठाइएको पत्रमा भारतीय न्युज च्यानल र अन्य केही च्यानलले नेपालविरुद्ध प्रचारबाजी गरेको तथा भारतीय हस्तक्षेप तथा विस्तारवादी नीतिलाई बढावा दिएकोले सार्वभौम मुलुकको हितका लागि ती च्यानल बन्द गर्न आग्रह गरिएको थियो । विद्यार्थी संगठनको निर्देशनमूलक पत्रअनुसार आफूहरूले भारतीय न्युज च्यानल र केही सिरीयल च्यानल बन्द गरेको बिबिएन बुटवलका प्रशासन प्रमुख ताराप्रसाद काफ्लेले जनाए ।
वर्तमान परिवेशमा भारतीय हस्तक्षेप चरम रूपमा बढ्दै गएकाले त्यसको विरोधमा भारतीय च्यानल बन्द गरिएको अखिलका रूपन्देही सचिव प्रकाश कँडेलले जानकारी दिए । भारतीय च्यानलहरू सोमबार साँझदेखि लुम्बिनी अन्चलका रूपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, अर्घाखाची र पाल्पा जिल्लामा केबलप्रदायकद्वारा बन्द भएको बिबिएन भैरहवा प्रमुख प्रकाश पाण्डेले जनाए ।
प्रतिक्रिया