नाकाबन्दीको यस्तो असर

देउखुरी, १२ असोज । पम्पहरूमा पेट्रोल र डिजेल सिद्धिएको बोर्ड झुन्डिएको छ । जसले गर्दा राजमार्गमा सवारीसाधनको चाप घट्दै छ । ‘बोर्डरबाट डिजेर र पेट्रोल छोडेको अवस्था छैन,’ नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका केन्द्रीय सदस्य लीलाराम खनालले भने, ‘देउखुरीमा आइतबार राती तीन हजार लिटर डिजल आएको हो, त्यो बाँडेर सिद्धियो ।’

पेट्रोलियम पदार्थको अभाव देखिएपछि राजमार्गमा गुड्ने सवारीसाधनमा पनि कमी देखिएको छ । अत्यावश्यक प्रहरी, एम्वुलेन्स, दूधको गाडी, दमकलको लागि केही मात्रामा डिजेल राखिएको छ । बजारमा भारतबाट भित्रिने खाद्यान्नदेखि कपडा, औषधी, बिउविजनका सामग्रीको अभाव देखिन थालेको हो ।

भारतबाट सामान बोकेका ट्रकहरू आउन नपाएसँगै बजारमा अत्वाश्यक सामानको अभाव हुन थालेको देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरेले जानकारी दिए । उनका अनुसार भारतले नेपालमा अघोषित रूपमा नाकाबन्दी गरेपछि भारतबाट सामान आउन नसक्दा अभाव देखिन थालेको हो । ‘भारत र कलकत्ताको बन्दरगाहाबाट नेपाल भित्रने सामान सबै रोकिएको छ, जसले गर्दा बजारमा विदेशी सामानको अभाव हुन थालेको हो,’ घिमिरेले भने, ‘किसानहरूलाई चाहिने बिउविजन पनि सकिन थाल्यो, नेपालमै उत्पादित बिउहरूको प्रयोग गर्न किसानलाई सल्लाह दिएको छु ।’

अहिलेको सिजन आलु रोप्ने हो । तर, नाकाबन्दीले भारतबाट आलुको बिउ ल्याउन नसकिएको भन्दै ब्यापारीले बिउ आलुको भाउ ह्वात्तै बढाएका छन् । बजारमा विऊआलु सटेज छ । ८०÷९० रुपैयाँ लम्बरी पर्ने सेते आलु अहिले एक सय ५० रुपैयाँमा बिक्री भैरहेको छ । एक सय ४० रुपैयाँ पर्ने रातो आलु दुई सय रुपैयाँमा बिक्री भैरहेको व्यापारीले बताएका छन् ।

‘भारतबाट बिउ आलु ल्याउन नसक्दा बजारमा सटेज छ,’ लमहीका तरकारी ब्यापारी कोमानन्द पाण्डेले भने, ‘नाकाबन्दीको असर कृषि क्षेत्रमा पनि पर्न थाल्यो, किसानहरूले सहज रूपमा बिउ आलु पाउन सक्नु भएको छैन, सटेज भएकाले समस्या भयो ।’

बजारमा हार्डवयरका सामानहरूको पनि अभाव हुन थालेको छ । लमहीको गणपति हार्डवेर पसलका सञ्चालक श्याम भण्डारीका अनुसार सिमेन्ट, छड, पेन्टको अभाव भएको छ । बन्दका कारण सामानहरू आयात गर्न नसक्दा समस्या भएको हो ।

प्रतिक्रिया