पर्यटनको सम्भावना भएर पनि ओझेलमा

पर्वत, ११ असोज । पर्यटकीय हिसाबले महत्वपूर्ण सम्भावना बोकेको जिल्ला भए पनि ओझेलमा परेको गुनासो सरोकारवालाहरूले गरेका छन् ।

३५ औँ विश्व पर्यटन दिवसको अवसरमा पर्वत सदरमुकाम कुस्माबजारमा आयोजित एक कार्यक्रमका सहभागीहरूले वार्षिक हजारौँ बाह्य पर्यटकहरू जिल्लामा विभिन्न गतिविधिका लागि भित्रिने भए पनि फाइदा लिन नसकिएको बताएका हुन् । जिल्ला विकास समिति पर्वत र पर्वत पर्यटन प्रवद्र्धन केन्द्रद्वारा आयोजित समारोहमा सहभागीहरूले उचित प्रचार प्रसार र लगानीको अभावमा जिल्लामा पर्यटन व्यावसाय फस्टाउन नसकेको बताए ।

छिमेकी जिल्ला पोखरामा वार्षिक डेढ लाखभन्दा बढी बाह्य पर्यटकहरू आउँदा पर्वतमा भित्र्याउन नसक्नु ठूलो कमजोरी देखिएको छ । पर्वत जिल्लामा पनि जल यात्रा र ट्रेकिङका लागि वार्षिक ९ हजारभन्दा बढी पर्यटकहरू भित्रिने भए पनि उनीहरूको तथ्यांक संकलनसमेत हुन सकेको छैन । जिल्लामा व्यवस्थित सूचना केन्द्र स्थापना गर्न सकेमा जिल्लामा भित्रिने पर्यटकहरूका निम्ति सहज हुने स्थानीय विकास अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए ।

जिल्लामा रहेका हरेक पर्यटकीय स्थलहरूको संरचना सुधार गरी बाह्य पर्यटकमैत्री वातावरण बनाउन जरुरी रहेको रिजालले बताए । उनले पर्यटन गुरुयोजना अक्षरशः पालना गर्न सके पर्वत जिल्लामा पनि पर्यटन व्यावसाय फस्टाउने र पर्वतवासीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन सक्ने बताए ।

त्यस्तै राजनीतिक दलहरूपनि जिल्लाको पर्यटन विकासका निम्ति सकारात्मक देखिएका छन् । उनीहरूले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई भित्र्याउन तथा उनीहरूका निम्ति आवश्यक सेवा सुविधा उपलव्ध गराउन आपूmहरू सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । त्यस्तै गैरसरकारी संस्थाहरूले पनि निजी क्षेत्र, गैरसरकारी संस्था र जिल्ला विकास समितिसँग समन्वयको अभाव भएको गुनासो गरेका छन् । सबै पक्षबीच समन्वयको अभावमा जिल्ला विकास समितिमा विनियोजित बजेट पनि खर्च नहुँदा पर्यटनको विकास हुन नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा जिल्ला पर्यटन विकास समितिका फोकल पर्सन चन्द्रबहादुर क्षेत्रीले जिल्लाका पर्यटकीय स्थल, पर्यटन व्यावसायको अवस्था, चुनौती र आगामी कार्यकाल तथा पर्यटन गुरुयोजनाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवशर्मा पौडेलले केन्द्रले पर्यटन विकासको क्षेत्रमा गरेका कामको बारेमा जानकारी गराएका थिए ।

चालु आर्थिक वर्षमा जिल्ला विकास समितिमा जिल्लाको पर्यटन विकासका लागि २४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये विभिन्न पर्यटकीय स्थलको संरक्षण, संरचना निर्माण र प्रचारप्रसारमा खर्च गरिने भएको छ । खासगरी कालीगण्डकीमा जलयात्रा, पञ्चासे, हम्पालको लेक, डहरे लेक, सेतीवेणी शिला, गोर्लाङधाम, लुंखुको महासिला, फलामेडाँडालगायत स्थानहरू जिल्लाका मुख्य पर्यटकीय स्थल हुन् । सँगसँगै सदरमुकाममा रहेका दुईवटा नेपालकै अग्ला र लामा पुल तथा निजि क्षेत्रले निर्माण गरेको कु्श्मा–बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफा मुख्य आकर्षणका केन्द्रबिन्दु बनेका छन् ।

पछिल्लो समयमा जिल्लाका चित्रे, आर्थर, लेखफाँट, शालिजा, लेस्पार लुंखुदेउराली लगायतका गाविसमा होमस्टे सेवासमेत विस्तार भएको छ । संचालित होमस्टेलाई प्रवद्र्धन गर्ने र नयाँ संरचना निर्माण गर्नका लागि सो २४ लाख रुपैयाँ बजेट खर्चिने जिविस पर्वतले जनाएको छ ।

प्रतिक्रिया