बेलहिया नाकाबाट मालबाहक ट्रक भित्रिए

रूपन्देही । विगत पाँच दिनदेखि ठप्प रहेको नेपाल भारत सवारी आवगमन सोमबारदेखि खुलेको छ । बेलहिया सुनौली नाकाबाट सोमबार मालबाहक सवारीसाधन भित्रिएसँगै अघोषित भारतीय नाकाबन्दी केही खुकुलो भएको छ ।

लामो समयदेखि भन्सार नाका बन्द हुँदा बेलहियाका स्थानीयले सोमबार मोर्चाको प्रतिवाद गरेका थिए । स्थानीयको प्रतिवादसँगै दसगजा क्षेत्रमा रहेका संयुक्त मधेसी मोर्चाका नेता तथा कार्यकर्ता दसगजा छाडी हिँडेका थिए । त्यसपश्चात् भारतीय नाकाबाट नेपालतर्फ मालबाहक सवारी साधन भित्रिएका हुन् ।

भैरहवा भन्सार कार्यालयका प्रमुख लावण्यकुमार ढकालका अनुसार सोमबार ४० वटा मालबाहक ट्रक नेपाल भित्रिसकेका छन् ।

भन्सार प्रमुख ढकालले भने, ‘मैले आइतबार भारतीय कस्टमका प्रमुखसँग छलफल गरी मालबाहक सवारी साधन नेपाल पठाई सहयोग गर्न आग्रह गरेको थिएँ । भारतीय पक्षको सहजताको कारण सोमबार एउटा पेट्रोल ट्यांक, तीनवटा एलपी ग्यास बुलेट, १६ वटा आलुप्याजका ट्रक, ८ वटा फलफुलका ट्रक र अन्य पेपर टायल लगायत समान आइसकेका छन् ।’ प्रमुख ढकालले भने, ‘सोमबार रातिसम्म अझै सात पेट्रोलियम पदार्थका ट्यांकर आउँदै छन् ।’भारतीय नाकाबाट नेपाल भित्रिने सामान बोकेका ट्रकहरू निरन्तर रूपमा आउनेसमेत भैरहवा भन्सार कार्यालयले जनाएको छ । बन्दका कारण नेपाल भारत सीमावर्ती बजार सुनौलीदेखी १९ किलोमिटर दक्षिणसम्म नेपालतर्फ आउने २५ सयभन्दा बढी मालबाहक ट्रकहरू जाममा परेका छन् ।

यता भारतीय पक्षले भने नेपालमा सवारी साधन पठाउने सबालमा कुनै अवरोध सिर्जना नगरेको जनाएको छ । भारतीय सीमा सुरक्षा बल महाराजगन्जका कमान्डेट खेमसिंह बानकोटीले भने, ‘हामीले नेपालको तराई क्षेत्रमा चलिरहेको आन्दोलनलाई मध्यनजर गर्दै सुरक्षा चेकजाँचमा केही कडाइ गरेका छौँ । (सौस)

प्रतिक्रिया