काठमाडौं, २० भदौ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले तराई मधेसमा पछिल्लो सयम भएका आन्दोलन शान्तिपूर्ण नभएको बताएका छन् । ‘कैलालीमा एक बालक र बर्दियामा एक हवल्दारको गोली प्रहारमा मृत्यु भएको छ’ उनले थपे, ‘सुरक्षाकर्मीलाई डेरा छाड्न चेतावनी दिइएको छ, यस्तो प्रदर्शन कसरी शान्तिपूर्ण भन्न मिल्छ ?’
पछिल्लो मधेसमा भएका आन्दोलनलाई सरकारकले दमन गरेको भन्दै सांसदहरूले गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गरेपछि सभामुख नेम्बाङले रुलिङ गरेका थिए । सोबारे जावफ दिने क्रममा गृहमन्त्री गौतमले लाठी र भाला लिएर निस्कने आन्दोलन शान्तिपूर्ण नहुने बताएका हुन् ।
‘रौतहटमा भाद्र ८ गते भएको प्रदर्शनमा स्थिति नियन्त्रणमा लिन खोज्दा राजकिशोर ठाकुरको मृत्यु भएको हो,’ गृहमन्त्री गौतमले संसद्मा जवाफ दिँदै भने, ‘पर्सामा १३ गते भएको प्रदर्शनमा वाणिज्य बैंकसमेत तोडफोड गरेपछि सम्झाउँदा नमानेपछि बल प्रयोगमा ६ प्रहरी र केही प्रदर्शनकारी घाइते भएका थिए, दिलीप चौरसियाको मृत्यु भयो ।’ उनले १४ गते नै भएको प्रदर्शनमा पार्किङमा राखिएको सवारी जलाइएको, नापी कार्यालय, जिविस, सिँचाइ, उद्योग वाणिज्य कार्यालयमा पनि तोडफोड गरिएको बताए ।
गृहमन्त्री गौतमले १५ भदौमा जानकी टोलमा प्रदर्शनकारीले प्रहरीचौकीमा र आन्तरिक राजस्व कार्यालयमा आगजनी गरेको जानकारी दिए । ‘सरकारी साइनबोर्ड हटाएका कारण नियन्त्रणका क्रममा बल प्रयोग हुँदा घाइते भएका चार जनाको मृत्यु भएको हो,’ उनले भने, ‘घाइते अन्यको काठमाडौं र नारायणी उपक्षेत्रीय अस्पतलमा उपचार भइरहेको छ ।’
उनले ६ प्रदेशको सीमांकनविरुद्ध आन्दोलनमा उत्रिएका प्रदर्शनकारीको मृत्यु भएको विवरण एकमुष्ट प्रस्तुत गरे । ‘एक जना बालक, १० सुरक्षाकर्मी, एक मोटरसाइकल यात्रीको गरी २९ जनाको मृत्यु भएको छ,’ उनले भने, ‘शान्तिपूर्ण प्रदर्शन भनिए पनि खुलेआम लाठी, बन्दुक, भाला, पेट्रोल बमको प्रयोग भएको छ ।’ गृहमन्त्री गौतमले २८ साउनमा टीकापुरमा भएको सभामा जे–जस्ता आह्वान भए भदौ ७ मा त्यही प्रकृतिको घटना हुनुले हिंसा भड्काउन उनीहरूकै हात हुनसक्ने अरोप लगाए ।
गृहमन्त्री गौतमले अहिलेको समस्या राजनीतिक नै भएको भन्दै राजनीतिक रूपमा सम्बोधन हुनुपर्छ भन्नेमा कुनै विवाद नभएको टिप्पणी गरे । उनले एउटै क्षेत्रलाई कसैले थरुहटमा, कसैले मधेसमा राख्नुपर्ने माग गरेपछि कसरी सम्बोधन गर्ने भन्दै प्रश्न गरे । ‘यस्तो अवस्थामा हामी संघीयताको दलदलमा त फसेनौँ भन्ने चिन्ता बढेको छ, त्यसैले घटनामा संलग्नलाई कानुनअनुसार कारबाही गर्नेमा सरकार दृढ छ’, उनले भने ।
गृहमन्त्री गौतमले बर्दियामा हवल्दारमाथि गोली प्रहार गर्ने र बाँकेमा मोटरसाइलक यात्रीलाई हत्या गर्नेलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको बताए । उनले सुरक्षाकर्मीलाई संयमित हुन निर्देशन दिइसकेको पनि जानकारी दिए ।
प्रतिक्रिया