साउथ ह्याम्पटन । इंग्ल्यान्डविरुद्धको ५ एकदिवसीय क्रिकेट सिरिजमा अस्टे«लियाले १–० को अग्रता लिएको छ ।
५ एकदिवसीय सिरिजअन्तर्गत बिहीबार राती भएको सिरिजको पहिलो खेलमा ५९ रनले विजयी भएसँगै अस्ट्रेलियाले ५ म्याचको सिरिजमा १–० को अग्रता लिएको हो । अस्ट्रेलियाले दिएको ३०६ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको घरेलु टोली इंग्ल्यान्ड ४५.३ ओभरमा सबै विकेट गुमाएर २४६ रन मात्र जोड्न सक्यो । इंग्ल्यान्डका लागि जेसन रोयले ६७ तथा जेम्स टेलरले ४९ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । इंग्ल्यान्डका अर्का भरपर्दा ब्याट्सम्यान इयान मोर्गान ३८ रनमा आउट भएपछि इंग्ल्यान्डको पारी धर्मराएको थियो । एलेक्स हेल्स २२, मोइन अली १७, विन स्टोक १३, अदिल रसिद ११ तथा स्टेफन फिन १० रनमा आउट भए । मार्कवुडले १० रन जोडे । अस्ट्रेलियाका मिचेल स्टार्क, नाथन कल्टर नाइल, पेट कोमिन्स र शेन वाट्सनले समान २–२ तथा मिचेल स्टार्क र म्याक्सवेलले १–१ विकेट लिए ।
यसअघि साउथह्याम्पटनमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०५ रन बनायो । उसका लागि म्याथु वाडेले ५० बलमा १२ चौकासहित अविजित ७१ रन बनाए । डेभिड वार्नरले ५९ रनको योगदान दिए । जोए वर्नस् र स्टिभन स्मिथले समान ४४–४४ रन बनाए भने मिचेल मार्स ४० रनमा अविजित रहे । इंग्ल्यान्डका आदिल एक्लैले ४ विकेट लिएका थिए ।
एसेस क्रिकेट शृंखलाअन्तर्गत इंग्ल्यान्ड भ्रमणमा रहेको अस्ट्रेलियाले ५ खेलको टेस्ट शृंखला र एक टी–२० क्रिकेटको नतिजा घरेलु टोलीलाई सुम्पिएको थियो । (एजेन्सी)
प्रतिक्रिया