क्वालालम्पुर, १७ भदौ । मलेसियामा सकिएको एसिसि यु–१९ प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।
मलेसियास्थित किन्नरा ओभलमा भएको आफ्नो अन्तिमा खेलमा नेपालले साउदी अरेबियामाथि ९ विकेटको शानदार जित निकाले पनि अर्काे खेलमा अफगानिस्तानले आयोजक मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपाल उपविजेतामा सीमित बनेको हो । दोस्रो खेलमा अफगानिस्तानसँग बेहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो ।
साउदी अरेबियाले दिएको ५६ रनको झिनो लक्ष्य नेपालले ९ ओभर खेल्दै १ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि ओपनर सुनील धमला ३४ रनको अविजित पारी खेल्दै जित दिलाए । यस्तै कप्तान राजु रिजाल पनि १४ रनमा अविजित रहे । शंकर राना मात्र ४ रनमा आउट भएका थिए । शंकर सामी मुन्सीको बलमा बोल्ड भएका थिए । यसअघि मलेसियाको सेलोंगर टर्फ क्लबको मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ३३.२ ओभरमा ५५ रन जोड्दा अलआउट भयो । नेपाली बलिङसामु साउदी अरेबियाका ब्याट्सम्यानहरू निरीह देखिए । उसका फैसल खानले १९ र जैनले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको योगफल छुन सकेनन् । साउदी अरेबियाका २ ब्याट्सम्यान ० रनमा तथा बाँकी ४ ब्याट्सम्यान १–१ रनमा आउट भए । नेपालका लागि सुशील कँडेलले सर्वाधिक ४ विकेट लिए । सुशीलले १० ओभरमा ९ मेडन राख्दै १२ रन खर्चिंदै ४ विकेट हात पारेका थिए । सुनील धमला र प्रेम तामाङले समान २–२ विकेट लिए ।
सुनील धमलाले ६ ओभरमा ३ मेडन राख्दै ३ रन दिएर २ तथा प्रेम तामाङले ४.२ ओभरमा २ मेडन राखेर ९ रन दिँदै २ विकेट आफ्नो नाममा लेखाएका थिए ।
यस्तै बिहीबारै भएको अर्काे खेलमा अफगानिस्तानले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै प्रतियोगिताको विजेता बनेको छ । अफगानिस्तानको यो शतप्रतिशत जित हो । घरेलु टोली मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य अफगानिस्तानले २१.३ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । अफगानिस्तानका लागि हजरत तुल्लाहले सर्वाधिक ६० रनको योगदान दिए । वाहिदुल्लाह सफाक २३ तथा परवेज मालकजाई १० रनमा अविजित रहे । नासिर खान ८ तथा इन्सान उल्लाह ५ रनमै पभेलयिन फर्किए । मलेसियाका पवनलिप सिंह एक्लैले ३ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४९.१ बलमा सबै विकेट गुमाउँदै १०५ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि भिरनदीप सिंहले ५७ तथा हमार रहिले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । मलेसियाको ब्याटिङलाई ध्वस्त बनाउने क्रममा अफगानिस्तानका नवीन उल हक एक्लैले ६ विकेट लिए । रसिद खानले ३ तथा करिम जनतले १ विकेट आफ्नो नाममा लेखाए ।
प्रतिक्रिया