दैलोमै घटना दर्ता

प्युठान, १७ भदौ । तोरवाङ–५ अर्गेलीकी इन्दु पोख्रेलले आप्mनो ७ वर्षे छोराको बल्ल जन्मदर्ता गराइन् । गाविसले सञ्चालन गरेको घटना दर्ता अभियानको मौका छोपेर उनले तोरवाङ–६ चिसावाङ केन्द्रमा पुगेर छोराको जन्म दर्ता गराएकी हुन् ।

‘गाविस जान टाढा भएकाले गएको थिइनँ,’ उनले भनिन्, ‘घर नजिकै टोली आएकाले सजिलो भयो ।’ पोख्रेल जस्तै गाविसका थुप्रै जनताले अभियानकै क्रममा घटना दर्ता गराएका छन् ।

‘भौगोलिक हिसाबले गाविसमा पुग्न सेवाग्राहीलाई समस्या थियो,’ तोरवाङ–२ धगेका खिमा सुनारले भनिन्, ‘घरआँगनमै जन्मदर्ता गर्न पाइयो ।’ अभियानबाट घटना दर्ता गराउन धेरैलाई सजिलो भएको उनले बताईन् । गाविसबाट हुने अन्य कामसमेत भएको उनले बताइन् ।

नेरा निमावि भवन तोरवाङ–४ मर्कावाङ, गाविस भवन, चिरायु मावि चिसावाङ र प्रगतिशील बालविकास केन्द्र धगेमा अभियान सञ्चालन गरिएको गाविससचिव हरिकुमार श्रेष्ठले बताए । ४ स्थानमा गरी ३ सय ३६ जनाको घटना दर्ता भएको उनले जानकारी दिए । उनका अनुसार जन्मदर्ता २ सय ७५, विवाह ३०, मृत्यु दर्ता २८, बसाइँसराइ ३ जना रहेको छ ।

अभियानमा घटना दर्तासँगै गाविसबाट प्रदान गरिने मालपोत, नागरिकता सिफारिस, नामसारी सिफारिसलगायत सवै सेवासमेत प्रदान गरिएको गाविससचिव श्रेष्ठले बताए । घटना घटेको ३५ दिनभित्रै गाविसमा आएर घटना दर्ता गर्नुपर्ने प्रावधान रहे पनि चेतना र भौगोलिक कठिनाईले समस्या हुने गरेको गाविस सचिव श्रेष्ठले बताए ।

प्रतिक्रिया