डडेल्धुरामा देउडाको रौनक

डडेल्धुरा, १५ भदौ । डडेल्धुराका सबै गाउँ र मुख्य बजार क्षेत्रमा देउडाको रौनक सुरु भएको छ । चाडबाडको सुरुवातसँगै सुदूरपश्चिमको मुख्य संस्कृतिका रूपमा रहेको देउडाको रौनक ओल्के पर्व सुरुवातसँगै जिल्लामा रौनक बढेको हो ।

भदौ १ गते मनाइने ओल्के पर्वसँगै डडेल्धुरालगायत सुदूरपश्चिमभरि मङ्सिरको अन्त्यसम्म धेरै चाडबाड हुने गरेका छन् । हरेक चाडपर्वमा देउडा वा ठाडीभाका गाउँदै आएको त्यसक्षेत्रमा गौरालगायत स्थानीय पर्व तथा मेलाहरू पनि यही समयमा मनाइने गरिन्छ । हरेक पर्व तथा मेला देउडा अनिवार्य जस्तै हुनेगरेको छ । सबैजसो चाडबाडका बेला मनोरञ्जन मात्रै होइन सुखदुःखका कुरा साटासाट गर्न र आफन्त, नातेदार जमघट गर्ने माध्यम पनि देउडा भएकाले प्रायःजसो पर्व तथा मेलामा देउडा र ठाडीभाकाका गीत गाउने र सुन्ने गरेको पाइन्छ ।

देउडा यहाँको ऐतिहासिक, पौराणिक, सांस्कृतिक तथा भाषा, सभ्यताको प्रतिबिम्ब भएको जानकारहरू बताउँछन् । देउडा मनोरञ्जनका लागि मात्र नखेलेर देउडाले यस क्षेत्रकै भाषा, संस्कृति, पौराणिक सभ्यतालाई समेत झल्काउने र वेशभूषा, रहनसहन र मायापे्रमको समेत पहिचान र प्रतिबिम्ब देउडा भएको डोटेली भाषा सस्ंकृतिमा विद्यावारिधि गर्नुभएका मोहनराज भट्टले बताए ।

देउडाको भाकालाई गाउँ परिवेशअनुसार फरक फरक लयमा गाउने भए तापनि यसको महत्व र भाव भने फरक नहुने डोटेली संस्कृतिविद् भोजराज भट्टको भनाइ छ । भट्टका अनुसार देउडाका हरेक तुक्का वा गीतहरू अर्थअनुसार जोड्दै सवाल जवाफका आधारमा प्रस्तुत गरिने वा गाइने गरिन्छ ।

देउडा परिवर्तित समयअनुसार फेरिँदै जान थाले तापनि देउडाका भाकाहरूले युवा पुस्तालाई समेत आकर्षित र मनोरञ्जन प्रदान गरिरहेको डेउडिया (देउडा गायक) करवीर सिं ऐर बताए । देउडाका हरेक तुक्काले माया पे्रमका भावका साथै परिवेशअनुरूप पहिचान र संस्कृतिलाई देउडाका माध्यमद्वारा गाइने डेउडिया ऐरको भनाइ छ । देउडा संस्कृतिमा क्षेत्रअनुसार विविधता रहे पनि यो यस क्षेत्रको मुख्य र मौलिक संस्कृतिका रूपमा रहेको छ । महिला र पुरुष दुवैले खेल्ने देउडा खेल क्षेत्रअनुसार फरक फरक तरिकाले पनि खेल्ने गरिन्छ ।

देउडा यस क्षेत्रकालागि भ्रातृत्व र सामाजिक सद्भाव कायम गर्ने एक दह्रिलो कडी पनि बनेर रहेको छ । देउडा जस्तै चैत धुमारी, ठाडीभाका, फाग मेलापर्वअनुसार फरक तरिकाले गाइने र खेलिने चलन डडेल्धुराको हरेक क्षेत्रमा संस्कृति बनेर रहेको छ ।

प्रतिक्रिया