‘भट्टराई ढोँगी नेता’

काठमाडौं, १५ भदौ । एमाले महासचिव ईश्वर पोखरेलले एमाओवादी नेता डा. बाबुराम भट्टराईलाई कुण्ठा बोकेको ढोँगी व्यक्तिको संज्ञा दिएका छन् । महासचिव पोख्रेलले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘आजका केही सन्दर्भ’ शीर्षकमा चार बुँदा उल्लेख गदै भट्टराईलाई त्यस्तो संज्ञा दिएका हुन् ।

‘कैलाली घटना मैले नै उक्साएको हुँ, अन्यत्र पनि म त्यसरी नै उक्साउँछु भनेको उनकै स्वरमा सुनियो–देखियो । तर, भोलिपल्ट कैलाली–टीकापुरमा आतंककारी र अपराधिक जत्थाद्वारा कर्तव्य पालना गर्दागर्दै मारिएका एसएसपी लक्ष्मण न्यौपानेको घरमा गएर ‘आफू दुःखी भएको भनेर शाखुल्य बनेछन् र सामाजिक सञ्जालहरूमा त्यहाँ गएको फोटो छपाएछन्,’ पोख्रेलले लेखेका छन् ‘कुण्ठाग्रस्त ढोँगी अभ्यासको एउटा उल्लेखनीय नमुना ।’

त्यसैगरी, पोख्रेलले भारतीय गृहमन्त्री राजनाथ सिंहको पनि कडा आलोचना गरेका छन् । फेसबुक स्टाटसमा उनले ‘हिजो मात्र भारतको संघीय गृहमन्त्री राजनाथ सिंहले उत्तरप्रदेशको महाराजगंजमा एउटा कार्यक्रममा बोलेको भनेर सञ्चारमाध्यमहरूमा आएको छ,’ पोख्रेलले लेखेका छन्, ‘मधेसीहरू धेरै पहिले नै नेपाल आएका भारतीयहरू हुन् ।’

महासचिव पोखरेलले नेपालमा रहेका एक करोड भारतीयहरूको हित रक्षा गर्नु भारत सरकारको कर्तव्य हो । अब, मधेस आधारित पार्टीहरू र तिनका नेताहरू राजनाथ सिंहको भनाइप्रति के प्रतिक्रिया दिन्छन् ?’ भनेर स्टाटस लेखेका छन् ।

पोख्रेलले भारतको उत्तर प्रदेश विधानसभाका अध्यक्षलाई केही दिन अगाडि मात्र नेपालका मधेसी नेताहरूको एउटा टोलीले ज्ञापनपत्र बुझाएर आफूहरूलाई सहयोग गर्न अनुरोध गरेको र लाइन लागेर ज्ञापनपत्र बुझाउँदै गरेका मधेसी नेताहरूको फोटो सञ्चारमाध्यममा हेरेको र पढेको पनि उल्लेख गरेका छन् ।

महासचिव पोखरेलले ती सबै विषय र अहिले सञ्चालन गर्न खोजिएका हिंसात्मक गतिविधिहरू, संविधान जारी गर्न नदिने, संविधान जारी गर्न जसरी पनि ढिलो गर्न चाहने कुरासँग सम्बन्धित रहेको हुनसक्ने भनी सबैले सोच्नै पर्ने बेला आएको बताएका छन् ।

प्रतिक्रिया