बीरगञ्जमा अनिश्चितकालीन कर्फयू

विरगञ्ज, १४ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । सोमबार दिउँसो विरगंजको स्थानीय नगवा चोकमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

झडपले स्थिति तनावग्रस्त भएपछि बसेको जिल्ला सुरक्षा समितिको बैठकले अर्को आदेश जारी नभएसम्म अपरान्ह चार बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रदर्शनकारीले नगवा चोकमा यातायात अबरुद्ध पार्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको थियो । प्रहरीसँगको झडपमा ८ जना घाइते भएका छन् । त्यसपछि आक्रोशित आन्दोलनकारी र प्रहरीहरुबीच पटकपटक झडप भएको थियो ।

प्रतिक्रिया