लहान, ९ भदौ । थारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच बुधबार कार्यगत एकता भएको छ । सभा र मोर्चाका पदाधिकारीले सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकमा कार्यगत एकता गरी जारी अधिकार प्राप्तिको आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो ।
कार्यगत एकताबारे जानकारी दिने उद्देश्यले बुधबारै आयोजित पत्रकार सम्मेलनमा सभा र मोर्चाका नेताले दुवै संगठनको मुद्दामा एकरुपता भएकाले आन्दोलनलाई सशक्त बनाउन कार्यगत एकता गरेको बताएका छन् ।
थारु कल्याणकारिणीसभाका केन्द्रीय सदस्य उचितनारायण चौधरीले तराई मधेसमा तीनवटा प्रदेश बनाइनुपर्ने, संविधानमा धर्म निरपेक्षता कायम राख्नुपर्ने, उत्पीडित समुदायलाई समानुपातिक आरक्षण दिनुपर्नेलगायत मुद्दामा एकरुपता रहेकाले दुवैबीच कार्यगत एकता भएको बताए ।
पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर मिलाएर एक प्रदेश, धनुषादेखि नवलपरासीसम्म अर्काे प्रदेश र रुपन्देहीदेखि कैलालीसम्म तेश्रो प्रदेश गरी तराईमा तीन प्रदेश हुनुपर्ने आफूहरुको अडान रहेको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा आम मूलनिवासी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष झवरप्रसाद रामले आन्दोलनमा सहकार्य गर्ने अवधारणअनुसार आफूहरुले थारु कल्याणकारिणीसभासँग कार्यगत एकता गरेको उल्लेख गर्दै अधिकार नमिलेसम्म आन्दोलन जारी राख्ने बताए ।
कार्यगत एकतासँगै जारी थारु कल्याणकारिणीसभाको आन्दोलनमा आफ्ना सम्पूर्ण शक्ति परिचालन गरिने उनले बताए ।
यसैबीच, संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले सिरहाको कल्याणपुर बजारमा रहेको नेपाल प्रहरी विटमा आगजनी गरेका छन् । आम हडताल सफल बनाउन बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारीले कल्याणपुर बजारमा बनाइएको प्रहरी विटमा आगजनी गरेको स्थानियवासीले बताएका छन् । आगजनीबाट प्रहरी विट पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
प्रतिक्रिया