बन्दले सयौँ यात्रु अलपत्र

मोरङ, ४ भदौ । संघीय समाजवादी फोरम नेपालले आह्वान गरेको पूर्वको १६ जिल्लामा यातायात बन्दका कारण शुक्रबार सयौँ यात्रुहरू बिचबाटोमै अलपत्र परेका छन् । बिनासूचना गरिएको बन्दका कारण विभिन्न जिल्लामा यात्रु भरिएका लामो दूरीका यात्रुवाहक बसहरू लामबद्ध भई रोकिएका छन् । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभा, भोजपुरलगायत जिल्लामा यात्रुवाहक बसहरू चल्न पाएका छैनन् ।

बिहान ८ बजेसम्म सडकमा निर्वाधरूपले सञ्चालनमा आएका यात्रुवाहक बसहरू बिनासूचना बन्द गरिँदा धरानको तिनकुने, इटहरीको पूर्व बसस्टेन्ड, बसपार्कहरूमा यात्रु लिएर निस्किएका यात्रुवाहक बसहरू अलपत्र परेका छन् ।

भदौ १ गते मंगलबार सप्तरीको भारदहमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागी मृत्यु भएका स्थानीय राजीवकुमार राउतलाई सहिद घोषणा गरिनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गरिनुपर्ने, दोषीलाई कारबाही हुनुपर्ने र मृतक परिवारमध्ये एक सदस्यलाई सरकारले रोजगारको व्यवस्था गर्नुपर्ने माग राख्दै संघीय समाजवादी फोरम नेपालले आयोजना गरेको लिम्बुवान र किरात क्षेत्र बन्दका कारण पूर्वाञ्चलका १६ जिल्लामा ठूला सवारीसाधनहरू चल्न पाएका छैनन् ।

सरकारले सो माग पूरा नगरे भोलिका दिनहरूमा पार्टीले सशक्त आन्दोलन गर्ने संघीय समाजवादी पार्टी फोरम नेपालका सुनसरी सचिव ताजुव लिम्बुले बताए ।

उनले पूर्वाञ्चलका १६ वटै जिल्लामा यातायातका साधनहरूमात्र बन्द गराइएको तर व्यापार व्यवसायहरू भने खुलै रहेको जानकारी दिए ।

प्रतिक्रिया