काठमाडौं, १० साउन । चलचित्र विकास बोर्डले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ साउन १२ गते वितरण गर्ने भएको छ । बोर्डले राष्ट्रपति भवन शीतल निवासमा साउन १२ गते मंगलबार बेलुकी तीन बजेबाट कार्यक्रम गर्न लागेको हो । राष्ट्रपति डा.रामवरण यादवको हातबाट चलचित्रकर्मीलाई पुरस्कार प्रदान गरिने बोर्डद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
राष्ट्रिय चलचित्र पुरस्कार प्रचारप्रसार उपसमितिकी संयोजक रूपा रानाद्वारा जारी विज्ञप्तीमा एक चलचित्रकर्मीलाई नगद तीन लाख ५१ हजार एक सय ११ रुपैयाँबाट ‘दीर्घ साधना सम्मान’ प्रदान गरिने उल्लेख छ । यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा ८ वटा विधामा चलचित्रकर्मीलाई पुरस्कृत गरिनेछ । जसमा उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, लेखन, छायांकन, सम्पादन र उत्कृष्ट आदिवासी जनजाति चलचित्र समावेश हुने बोर्डले जनाएको छ ।
०७१ साल वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रमध्ये जुरीको सिफारिसमा परेका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कार प्रदान गर्न लागिएको हो । गतवर्ष एकैपटक चार वर्षका चलचित्रलाई पुरस्कार गरेको विकास बोर्डले यसपटक भने पुरस्कार वितरणलाई समयमै गर्ने प्रयास गरेको छ । असार १६ गते बोर्डको वार्षिकोत्सवमा पुरस्कार वितरण भनिए पनि बोर्डमा अध्यक्षको नियुक्ति नै ढिलो भएले कार्यक्रम पनि सरेको थियो ।
प्रतिक्रिया