हारबिन, ५ साउन । उत्तरपूर्वी चीनको एक कोइला खानीमा १२ जना मजदुर च्यापिएको समाचार छ । ती मजदुरको खोजी कार्य जारी रहेको अधिकारीहरुले जनाएका छन् । उत्तरपूर्वी चीनको हेलोङजियाङमा रहेको एक कोइला खानीमा उनीहरु फसेका हुन् ।
उक्त खानीमा बाढी आएपछि बाढीका कारण मजदुर फसेको समाचारमा जनाइएको छ । सिआङ जिल्लाको हेगान जिल्लामा गएरातिदेखि व्यापक रुपमा बाढी आइरहेको बताइएको छ ।
सोमबारै अपरान्ह करिब ५ बजेदेखि सो जिल्लामा बाढीको प्रकोप सुरु भएको र सोही बाढीका कारण उनीहरु खानीमा च्यापिएर रहेका बताइएको छ ।
गएरातिदेखि नै उद्वारकर्ताहरुले आफ्नो काम थालेका हुन् । उनीहरु विस्तारै मजदुर थुनिएको क्षेत्रको नजिक पुग्न लागेको बताइएको छ ।
चार हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारियो
यसैबीच अर्काे एक समाचारअनुसार दक्षिणपश्चिमी द्वीप प्रान्त हाइनानमा भारी वर्षाको कारण गत आइतबार चार हजार २३० व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।
बाढीको प्रकोप बढ्दै गएपछि उनीहरुलाई सारिएको स्थानीय बाढी नियन्त्रण आधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
प्रान्तको डोङ्गफाङ्ग सहर भारी वर्षाबाट अत्यन्त प्रभावित भएको र यहाँ पाँचसय मिलिलिटर भन्दा बढी वर्षा भएको उद्धार प्रमुख कार्यालयले जानकारी दिएको छ ।
उक्त वर्षाबाट बासुओ नगर क्षेत्रबाट एक वृद्ध व्यक्ति बेपत्ता भएको समेत जनाइएको छ । डोङ्गफाङ्ग सहरबाट चार हजार २३० व्यक्ति सुरक्षित स्थानमा सारिएको र करिब एक लाख ६८ हजार व्यक्ति यसभारी वर्षाबाट प्रभावित भएको बताइएको छ ।
प्रतिक्रिया