कात्तिक १ गतेबाट उपत्यकाका सबै हलमा ‘ई–टिकटिङ’

chalchitra_bikas_boradकाठमाडौं । बक्स अफिस लागू गर्ने विषयलाई आफ्नो मुख्य मुद्दा बनाएका चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सुरुवातमा ‘ई–टिकटिङ’ लागू गर्ने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरका सबै हलमा कात्तिक १ गतेबाट अनिवार्य रूपमा यो व्यवस्था लागू हुने अध्यक्ष राईले बताए ।

अहिले काठमाडौंका अधिकांश मल्टिप्लेक्समा ‘ई–टिकटिङ’ को व्यवस्था भए पनि सिंगल हल र गोपी, गुणजस्ता हलमा यो व्यवस्था छैन । जसका कारण निर्माताले वितरक र हलवालाको भरमा आफ्नो चलचित्रको व्यापार थाहा पाउने गरेका छन् ।
तर, कात्तिक १ गतेबाट उपत्यकाका सबै हलमा ‘ई–टिकटिङ’ लागू हुनेछ । यसका लागि चलचित्र विकास बोर्डले काठमाडौं, भक्तपुर र ललितपुरका सबै हलवालासँग छलफल गरेको बताइएको छ । आगामी माघ १ गतेबाट काठमाडौं बाहिरका सबै हलमा यो व्यवस्था लागू गरिने बोर्डले जनाएको छ । चलचित्र बोर्डका सदस्य सुरेशदर्पण पोख्रेलले भने, ‘राज्यले लागू गर्न लागेको नियम पनि मान्दिनँ भन्नेलाई कारबाही हुन्छ । ‘ई–टिकटिङ’ लागू नगर्ने हल बन्द हुन्छ ।’
‘ई–टिकटिङ’ लागू गर्न चाहिने सर्भर र कप्युटर खरिद गर्न बोर्डले तत्काल कुनै सहयोग गर्न नसक्ने जनाएको छ । तर, यसका लागि राज्यको तर्फबाट कर छुटका लागि बोर्डले पहल गर्ने बताइएको छ ।
अब, कुनै पनि नयाँ हलले इजाजत लिनका लागि पहिले नै ‘ई–टिकटिङ’ लागू गर्नुपर्नेछ । यसरी टिकट बिक्री हुँदा निर्माताले आफ्नो चलचित्रको स्पष्ट हिसाब पाउनेछन् ।

प्रतिक्रिया