काठमाडौं, २ साउन । साउन हरियालीको महिना । अरूबेला सुकेर खङरंग परेका बोटबिरुवा पनि हरियो पालुवा फेरेर प्रकृतिलाई सिँगारिरहेका छन् । हरियाली प्रकृतिको सुन्दरताभित्र नहराउने सायदै कोही होलान् ? प्रकृतिजस्तै नेपाली नारी पनि साउनमा हरिया र पहँला पोते, चुरा, सारी अनि चोलीमा सजिन थालेका छन् ।
फुटपाथदेखि महलसम्मका कस्मेटिक र फेन्सी पसलमा महिलाको उपस्थिति बाक्लिन थालेको छ । अहिले यस्ता पसलमा चुरा, पोते, सारी चोली अन्य समयमा भन्दा बढी नै सजाएर राखिएका छन् । हरियाली मात्र नभएर सांस्कृतिक महत्व रहेको साउनमा महिला किन व्रत बस्छन् ? किन हरियो चुरा, पोते र सारी लगाउँछन् भन्नेबारे महिला कालाकारको बुझाइ यस्तो रहेछ–
दीपाश्री निरौला (हास्य कलाकार)
साउनमा प्रकृति नै हरियाली हुने भएकाले म उत्साहित छु । यस महिनामा आफ्ना श्रीमान्को दीर्घायुको कामना गर्दै महिलाहरू व्रत बस्ने गर्छन् । यस महिनामा माछामासु, लसुन प्याज नखाने भए पनि म चाहिँ सोमबारबाहेक अन्य दिन बार्दिनँ । सुटिङका क्रममा बाहिर जाँदा माछामासु बार्न कठीन हुने हुँदा सोमबारबाहेक अन्य दिनमा बार्दिनँ ।
कुञ्जना घिमिरे “सुन्तली” (हास्य कलाकार)
साउन हरियालीको महिना हो । प्रकृतिको रूप हरियाली भएकाले महिलाहरू पनि प्रकृतिअनुरूप नै हरिया चुरा, पोते अनि सारी लगाउने गर्छन् । नेपाली संस्कृतिअनुसार नवदुलहीलाई सासूबाट छुट्याएर ‘साउने पानी’ छल्न माइती घरमा पठाउने चलन छ । अविवाहित महिला भगवान् शिवको व्रत बस्ने भएकाले पनि साउनको विशेष महत्व छ । मन्दिरमा गएर पूजा गर्छु तर व्रत बस्दिनँ । भूकम्पका कारण क्षतिग्रस्त भएको काभ्रे जिल्लाको डाँडागाउँस्थित पहरी बस्तीलाई एकीकृत नमुना बस्ती बनाई साउनको अन्त्यमा ओपनिङ गर्ने योजना छ । त्यहाँ २० वटा घर निर्माण गरी स्थानीयलाई हस्तान्तरण गर्ने योजनाका साथ हामी डेढ महिनादेखि खटिरहेका छौँ ।
सुगरिका केसी (पूर्व मिसनेपाल)
यो महिनामा कृषिको महत्व बढी हुने गर्छ । धार्मिक रूपले हेर्दा हिन्दु धर्म माने महिलाले यस महिनामा हरिया, पहँला चुरापोते अनि सारीचोलो लगाउने गर्छन् । सोमबार भगवान् शिवको व्रत बस्ने गर्छन् । पहिला–पहिला हाम्रा हजुरआमा, आमाले मान्दै आउनुभएको संस्कृति भएकाले म पनि यसलाई पछ्याउँछु । म पूर्ण साकाहारी भएको हुँदा व्रत बस्न कुनै अप्ठ्यारो हुँदैन । विवाहपछि व्रतको महत्व बढी हुँदो रहेछ । यस महिनामा हरिया चुरा, पोेते र सारी लगाउने अनि व्रत बस्ने संस्कृति मलाई एकदम राम्रो लाग्छ । तर, आजकाल संस्कृति बढी फेसनेवल हुँदै गइरहेको छ । कसैकसैले हरियो नङपोलिस, हरियो गाजल पनि लगाउने गर्छन् । कलेज पढ्ने विद्यार्थीले पनि हरियापहँेला चुरा, पोते लगाउने गर्छन् । यो उनीहरूलाई सुहाउँदैन र उनीहरूका लागि अनिवार्य छैन ।
कतिपयले बुझेर यस संस्कृतिलाई अनुसरण गरेका छन् । कतिले नबुझिकन देखासिकीमै अनुसरण गर्दै आएका छन् । हरियापहेँला चुरापोते र कपडा मिलाएर लगाउँदा मात्र राम्रो देखिन्छ । यस्ता संस्कृतिबारे राम्ररी बुझेर मात्र अनुसरण गर्नुपर्छ ।
प्रतिक्रिया