नापी र मालपोतको सेवा सुरु

sewaमहोत्तरी, २ साउन । महोत्तरीको बर्दिवासमा मालपोत र नापी कार्यालयले आफ्नो सेवा शुभारम्भ गरेको छ । शुक्रबारदेखि मालपोल कार्यालय बर्दिवासले सेवा शुभारम्भ गरेको हो ।

एकीकृत सेवा केन्द्रका प्रमुख पशुराम ठाकुर र मालपोल कार्यालय बर्दिवासका प्रमुख गोपालप्रसाद नकर्मीले संयुक्त रूपमा सेवाग्रहीलाई सेवा प्रदान गर्दै सेवा प्रारम्भ गरेका थिए । मालपोत र नापी कार्यालय केही महिनाअघि स्थापना भए पनि सदरमुकामको कार्यालयबाट कागजपत्र नआईपुग्दा कामकाज सुरु हुन सकेको थिएन ।
सदरमुकामका स्थानीयको विरोधका कारण ०६५ सालमा निर्णय भएर पनि सेवा दिन नसकेकोे मालपोत र नापी कार्यालयले शुक्रबारबाट सेवा दिन सुरु गरेपछि जिल्लाका उत्तरी भेगका स्थानीयमा खुसी छाएको छ ।
बर्दिवासमा नापी र मालपोतले सेवा सुरु गरेसँगै सदरमुकाम जलेश्वरमा आन्दोलन सुरु भएको छ । जलेश्वर उद्योग वाणिज्य महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत आन्दोलनको घोषणा गरेको हो । प्रशासनको मिलेमतोमा नापी र मालपोत कार्यालयको ताला फोरेर कागजात बर्दिवास लगिएको भन्दै उनीहरूले आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया