राष्ट्रपति कृषक पुरस्कार प्रदान

ललितपुर । कृषि विकास मन्त्रालयले १२ औँ राष्ट्रिय धान दिवसको अवसर पारेर पहिलोपटक प्रदान गरिएको राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार– २०७२ कैलाली जिल्ला टीकापुर नगरपालिका–७ बस्ने केरा व्यवसायी कृषक कालु हमालले पाएका छन ।
सर्वोत्कृष्ट पुरस्कारको राशि दुई लाख रुपैयाको छ । अन्य उत्कृष्ट कृषक पुरस्कार पाउनेमा धनकुटा भिरगाउँ–२ का चन्द्रलाल तामाङ, कास्की लेखनाथ–२ का छ्यामबहादुर थापा, बर्दिया सोरहवा–२ का छायादत्त भुषाल र चितवन चित्रवन नगरपालिका–७ का प्रकाश वन्त रहेका छन् ।
धनकुटाका कृषक तामाङ अलैँची र चिया व्यवसायी हुन् भने कास्कीका छ्यामबहादुर थापा बंगुर व्यवसायी हुन् । यसैगरी, बर्दियाका छायादत्त भुषाल माछा र चितवनका प्रकाश वन्त पुष्प व्यवसायी रहेका छन् । उत्कृष्ट चार जनाले क्रमशः एक लाख रुपैयाँका दरले नगद राशि पाएका छन् । ती कृषकलाई पुरस्कृत गर्दै कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले पुरस्कार पाउने कृषकले कृषि क्षेत्रमा सद्भावना दूतका रूपमा काम गर्न ध्यानाकर्षण गरेका थिए । उनले पुरस्कार प्राप्त गर्ने कृषकले यस क्षेत्रमा जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा पनि जोड दिए ।
मन्त्रालयको तथ्यांकबमोजिम प्रतिवर्ष नेपालमा ५२ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको उनले बताए । धान उत्पादन उल्लेखनीय रहेता पनि प्रत्येक वर्ष १४ अर्ब रुपैयाँ बराबरको धान आयात गर्दै आएको तथ्यांक रहेको उनको भनाइ छ । खाद्यान्नको रूपमा आयात गरिने सबै बस्तु कृषिअन्तर्गत राखिएकाले नै यो क्षेत्र कमजोर देखिएकोमा उनले दुःख व्यक्त गरे । उनले सन २०२५ सम्म नेपाललाई भोकमरीबाट मुक्त गराउन गरिएको पहललाई सार्थकता दिनका लागि कृषि क्षेत्रको उत्पादनले मात्र सम्भव भएकामा जोड दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य भारतेन्दु मिश्रले कृषि क्षेत्रलाई मजबुत बनाउन सुधारको खाँचो भएको औँल्याए । उनले चालु आवमा २३ अर्ब रुपैयाँ बराबर बजेट छुट्याएकामा आगामी आवमा वृद्धि गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा कृषकलाई तालिम दिएर कृषि उपजको उत्पादनमा वृद्धि हुने पनि बताए ।
आयोगका सह–सचिव पुष्पलाल शाक्यले कृषकलाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए । उनले कृषि क्षेत्रमा आवश्यक पर्ने मल, बीउविजनलगायतमा अनुदानको नीति बनाउनुपर्ने जिकिर गरे । त्यसैगरी कन्चनपुरबाट प्राप्त समाचारअनुसार कञ्चनपुरका तीनजना कृषक राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भएका छन् ।
झलारीमा आयोजित १२ औँ राष्ट्रिय धान दिवसका अवसरमा पुनर्वास नगरपालिका– १४ का गोविन्द गौतम, भीमदत्तनगरपालिका– १० का मानबहादुर कार्की र महावीर साउदलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरुस्कारबाट सम्मानित गरिएको हो । उनीहरूलाई प्रमुख जिल्ला अधिकारी गोविन्द कार्कीले १० हजार नगद र प्रमाण पत्रसहित पुरस्कृत गरेका थिए । (सौस)

प्रतिक्रिया