मेनपावर व्यवसायीद्वारा विभाग घेराउ, श्रममन्त्रीको राजीनामा माग

baideshik-rojgharकाठमाडौं, १४ असार । मेनपावर व्यवसायीहरूले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङको तत्कालै राजीनामा माग गरेका छन् ।

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागका कारण व्यवसाय सहज रूपमा सञ्चालन गर्न नसकिने भएको भन्दै तत्काल राज्यमन्त्री गुरुङको राजीनामा माग गरेका हुन् ।
१७ असारमा हुने वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी सरोजकुमार पोखरेलको नेतृत्वमा आइतबार विभिन्न माग राख्दै विभाग घेराउ गर्न पुगेका व्यवसायीहरूले मन्त्री गुरुङको राजीनामा माग गरेका हुन् ।
विभाग घेराउ गर्न पुगेका व्यवसायीहरूले राज्यमन्त्री गुरुङले व्यवसायीहरूसँग छलफल नै नगरी मनोमानी ढंगबाट व्यवसाय नै धरापमा पर्ने गरी ‘फ्री भिसा’, ‘फ्री टिकट’ लागू गर्न लागेको भन्दै राज्यमन्त्री गुरुङको राजीनामा माग गरेको अध्यक्षका प्रत्यासी सरोज पोखरेलले बताए । ‘फ्री भिसा,’ ‘फ्री टिकट’ आफैँमा राम्रो भए पनि लागू गर्नुअघि व्यवसायीसँग छलफल गर्नुपर्नेमा नगरेको, नेपाली कामदारका लागि कोटा निर्धारण गर्नुपर्ने, ‘फ्री भिसा’, ‘फ्री टिकट’को नाममा गरेको दलाली बन्द गर, सर्वसुलभ वैदेशिक रोजगारीको ग्यारेन्टी गर, दुईवटा नागरिकता बोक्ने महानिर्देशकलाई कारबाही गर, विभागमा हुने घुसखोरी बन्द गर, व्यवसायिक एकता जिन्दावाद, ‘फ्री भिसा’, ‘फ्री टिकट’को पूर्वधार तयार गर, अनुगमनको नाममा व्यवसायीमाथि हुने आतंक बन्द गर’लगायत माग राख्दै विभागमा घेराउ गरेका हुन् ।
श्रम मन्त्रालयले सूचना प्रकाशन गरी २१ असारदेखि लागू हुने गरी मलेसिया र ६ खाडी मुलुकमा कामदार पठाउने निर्णय कार्यान्वयन गरिने जनाएकोप्रति आपत्ति जनाए । यो निर्णय कामदार र व्यवसायीको हितविपरीत भएको भन्दै तत्काल रोक्नसमेत आग्रह गरेका छन् ।
आन्दोलनकै क्रममा वैदेशिक रोजगार विभागले क्षेत्राधिकार नाघेर मेनपावरमा छापामार शैलीमा छापा मारेको भन्दै त्यसविरुद्धमा आन्दोलनमा उत्रेको बताए ।
व्यवसायीहरूले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई पनि पदबाट हटाउन माग गरेका छन् । दुईवटा नागरिकता बोकेका महानिर्देशकले व्यवसायीलाई अनुगमनका नाममा आतंकित बनाएको भन्दै यस्तो कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।
उक्त घेराउ कार्यक्रममा संघको निर्वाचनमा अध्यक्षका प्रत्यासी सरोज पोखरेलले व्यवसायीहरूको माग तत्काल पूरा नभएर चरणबद्ध आन्दोलन गर्ने बताए ।

प्रतिक्रिया