भोजपुरी सोल्जर बनाउँदै साधुराम

काठमाडौं । चितवनमा जन्मिएका पिताम्बर आचार्यलाई कला क्षेत्रमा धेरैले साधुराम भनेर चिन्छन् । नाटकबाट कला यात्रा सुरु गरेका साधुरामको पहिचान अहिले निर्माताको रूपमा पनि स्थापित भएको छ । फिल्म ‘दि रेञ्ज’ का निर्मातासमेत रहेका पिताम्बर हाल भोजपुरी फिल्मको निर्माण गर्ने तयारीमा छन् । उनले रमाकान्त प्रसादसँग मिलेर भोजपुरी फिल्म ‘सोल्जर’ बनाउन लागेका हुन् । नेपाली फिल्मले सोचेजस्तो व्यापार गर्न नसकेको जनाउँदै भोजपुरी फिल्म निर्माणमा हात हालेको उनले बताए । कुमारी माइ मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको निर्देशक रमाकान्त प्रसाद नै छन् । साधुरामले ‘सम्झे आफ्नै हुन्’, ‘महिना’, ‘समय’ जस्ता एक दर्जनभन्दा बढी नाटकमा मुख्य भूमिका अभिनय गरिसकेका छन् । नाटकबाहेक ‘बाउन्न घुस्सा त्रिपन्न ठक्कर’, ‘भइगो नि त’, ‘हर्के हवल्दार’, ‘रातोपिरो’ टेलिशृंखलामा पनि उनको अभिनय हेर्न पाइन्छ ।

उनले नेपाली फिल्महरू ‘इन्द्रेणी’, ‘यो संसार’, ‘भाइटीका’, ‘पिञ्जडा’, ‘माया नमार’, ‘तहल्का डटकम’ र भोजपुरी फिल्ममा ‘दिदी तोहार देवर दिवाना’, ‘लागल रहो राजा जी’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरिसकेका छन् । (सौस)

प्रतिक्रिया