‘मलाई किन सदस्य सचिव बनाइएन ?’

Lama-Tendy-sharpaकाठमाडौं, ११ असार । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष एवम् एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघका महासचिव लामा टेण्डी शेर्पाले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको आलोचना गरेका छन् ।

शेर्पाले सामाजिक सञ्जाल फेसबुकमा आज (शुक्रबार) सन्देश लेखेर मन्त्री पौडेलको आलोचना गरेका हुन् ।

आफ्नै संगठन खेलकुद महासंघका कार्यबाहक अध्यक्षसमेत रहेका उपाध्यक्ष केशव विष्टलाई मन्त्री पौडेलले बिहीबार राखेप सदस्य सचिवमा नियुक्त गरेपछि शेर्पाले बिरोध गरेका हुन् ।

टेण्डीले खेलकुद महासंघले आफूलाई राखेपको सदस्य सचिवमा नियुक्तिका लागि सर्वसम्मत निर्णय गरेको दाबी गरेका छन् । महासंघको निर्णयविपरीत मन्त्री पौडेलले निर्णय गरेको भन्दै टेण्डीले आपत्ति जनाएका हुन् ।

‘नेपाल खेलकुद महासंघको सर्वसम्मत निर्णयबाट राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको पदमा मलाई प्रस्तावित गर्नुहुने सम्पूर्ण कमरेडहरूमा हार्दिक धन्यवाद दिन चाहन्छु’, टेण्डीले भनेका छन्, ‘तपाईहरूले म माथी गर्नु भएको विश्वासलाई अझ थप ऊर्जाका साथ खेलकुदको क्षेत्रमा पार्टीको र खेलकुदकर्मीको तर्फबाट आफ्नो भूमिकालाई ईमान्दारीता पूर्वक निभाउने प्रण गर्दछु ।’

‘व्यक्तिगत लाभको आधारमा संगठनको मनोभावनाविरूद्ध जुन अप्रिय निर्णय वर्तमान खेलकुदमन्त्री पुरूषोत्तम पौडेलद्वारा भएको छ त्यसका विरूद्ध पनि खेद प्रकट गर्न चाहन्छु’, टेण्डीले सन्देशमा भनेका छन् ।

टेण्डीले प्रथम पटक राखेप सदस्य सचिव नियुक्त भएकी एमालेको महिला नेत्री सकुन्तला नगरकोटीलाई जानकारीनै नगराइ हटाएर पौडेलले चीरहरणको स्वरूप देखाएको आरोप लगाएका छन् ।

‘मन्त्री पौडेलको शैलीले सम्पूर्ण महिला जातिमाथीको अपमान भएको महशुस गरेको छु’, टेण्डीले भनेका छन् ।

खेलकुद महासंघको अध्यक्ष स्वयं खेलकुदमन्त्री पौडेल हुन् । पौडेलले नै बिहीबार राखेपमा विष्टसहित अन्य दुई सदस्यलाई नियुक्त गरेका थिए ।

टेण्डीको सन्देशसँगै एमालेको खेलकुद महासंघको विवाद सडकमा आएको छ ।

फेसबुकमा सन्देशसँगै टेण्डीले आफ्नो र सकुन्तला नगरकोटीको तस्बिर पनि राखेका छन् । नगरकोटी बिहीबारदेखिनै सदस्य सचिवबाट मुक्त भएकी हुन् ।

सदस्य सचिवमा नियुक्त भएका विष्ट एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका मानिन्छन् । टेण्डी भने गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष बामदेव गौतमका नजिक रहेको आरोप छ ।

प्रतिक्रिया