सुटुक्क बिदा भइन् नगरकोटी

sakuntala-nagarkotiकाठमाडौं, ११ असार । खेलकुद मन्त्रालयले राखेपकी सदस्य शकुन्तला नगरकोटीलाई अर्को व्यवस्था नभएसम्मका लागि जेठ ३२ गते सदस्य–सचिवमा नियुक्त गरेको थियो ।

परिषद्मा नगरकोटीकै ११ दिने कार्यकालमा राष्ट्रपति रनिङसिल्ड पोखरामा सम्पन्न भएको थियो ।

उनले खेलकुदमा भत्किएका संरचना पुननिर्माण र खेलविकासका लागि केही कार्ययोजनासमेत तयार पारेकी थिइन् । तर, उनले आफ्नो कार्यकाल छोटो अवधिमै समाप्त भयो ।

बिहीबारै उनले नेपाली खेलाडीका लागि भत्ता दुई सय ५० बाट बढाएर तीन सय र उपत्यका बाहिरका खेलाडीका लागि पाँच सय रुपैयाँ भत्ता कायम गरेकी थिइन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा रहेको भत्किएका क्रिकेट संरचना पुनर्निर्माणका लागि कार्ययोजनासमेत अगाडि बढाएकी थिइन् ।

उनी राखेपमा केशव विष्टको आगमनसँगै विष्टलाई स्वागत गरेर सुटुक्क राखेपबाट विदा भएकी थिइन् । राखेपमा नयाँ सदस्यसचिवको नियुक्तिसँगै बिदा हुन आँटेकी नगरकोटीलाई कुनै कर्मचारीले वास्तै गरेनन् ।

समाचार स्रोतका अनुसार केशव विष्ट सदस्यसचिव नियुक्त हुने समेत उनलाई थाहा थिएन । एमालेभित्रको अध्यक्ष केपी ओली पक्ष र युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलबीचको दुई पक्षीय विवादका कारण क्याबिनेटबाट सदस्य चयनसमेत हुन सकेको थिएन ।

संघको प्रतिनिधित्व गर्दै विष्ट सदस्य भएका थिए । यस क्रममा समेत नगरकोटीको सहयोग रहेको थियो ।

राजनीतिक पद मात्र हेरिने प्रचलन भए पनि शकुन्तला एमालेको प्रतिनिधित्व गर्दै सदस्यसचिव हुनेमध्ये खेलकुदमा सबैभन्दा राम्रो पृष्ठभूमि भएकी व्यक्ति हुन् ।

उनी भलिबल र कबड्डीको राष्ट्रिय च्याम्पियनसिप खेलिसकेकी खेलाडी हुन् ।
एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघको सचिवालय सदस्य रहेकी नगरकोटी यसअघि नै बोर्ड सदस्य थिइन् ।

युवराज लमा सदस्यसचिव रहेको बोर्ड बैठकमा सहभागी हुँदासमेत शकुन्तलाले संगठनका तर्फबाट राख्ने कुरा नेतृत्वसँग सल्लाह गरेर मात्र बैठकमा जाने गरेको खेलकुद महासंघ निकट व्यक्ति बताउँछन् ।

शकुन्तलाको पहिलो निर्णय नै विवादमा परेको थियो । नेपाल क्रिकेट संघ (क्यान) बाट दीपक साउद र रञ्जित तामाङलाई फिर्ता बोलाउने निर्णय उनले गरेपछि साउद र तामाङले न्यायालयबाट स्टे अर्डर पाउँदै फिर्ता भएका थिए ।

उनलाई नजिकबाट नियाल्नेहरू शकुन्तलाले महासंघ नेतृत्वसँगको सल्लाहले नै यो निर्णय गरेकी थिइन् ।

त्यसो त बक्सिङ संघबाट दुई प्रतिनिधि फिर्ता बोलाउने तयारी पनि क्रिकेट संघको विवादमा अदालतको निर्णयका कारण रोकिएको समाचार स्रोत जनाउँछ ।

प्रतिक्रिया