काठमाडौं । दर्जन बढी म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय देखाइसकेका मोडल नारायण ढकाल अब म्युजिक भिडियो निर्देशकका रूपमा दर्शकमाझ आउने भएका छन् । भिडियोको निर्देशक भए पनि उनी मोडलिङको कामलाई पनि निरन्तरता दिने सोचमा छन् ।
लोकगायक विमलराज क्षेत्री र लक्ष्मी परियारको स्वरमा सजिएको लोकदोहोरी गीत ‘जब पर्छ साँझ’ को निर्देशन गर्दै नारायणले निर्देशनमा डेब्यु गरेका हुन् । यो म्युजिक भिडियोको गत शनिबार बाँडेगाउँको रमणीय दृश्यमा छायांकन गरिएको थियो । विष्णु घिमिरेको प्रस्तुतिमा हिमाल आचार्यको लय रहेको गीतमा नौलो किरण र गोविन्द पौडेलको शब्द रहेको छ । कविना म्युजिकले बजार व्यवस्थापन गरेको उक्त गीतको भिडियो उत्पादन नटराज फिल्म्सले गर्नेछ ।
भिडियोमा ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’, ‘भद्रगोल’ लगायतका टेलिसिरियलमा अभिनय गरेकी स्वस्तिका लामिछाने, जीव गुरुङ र निर्देशक स्वयं ढकालको अभिनय रहेको छ । भिडियोको छायांकन गोकुल अधिकारीले गरेका हुन् । (सौस)
प्रतिक्रिया