मुम्बई । बलिउडका सुपरस्टार स्वर्गीय राजेश खन्नाको मुम्बईस्थित घरलाई भत्काएर मल्टिस्टोरिज भवन बनाइने भएको छ । खन्नाको यो घर २०१४ अगस्टमा उनको परिवारले मंगलोरियन शशीकिरण सेठ्ठीलाई बेचेका थिए ।
भारतीय सञ्चारमध्यमका अनुसार सात हजार पाँच सय स्क्वायर फिटमा पैmलिएको यो घरलाई शशीकिरण नयाँ रूप दिन चाहन्छन् । उनले उक्त घरलाई भत्काएर तीन देखि चारवटा ठूला अपार्टमेन्ट शैलीका घर बनाउने चाहना राखेका छन् । सेठ्ठी अलकार्गो लिटिस्टिक्स(अवस्या ग्रुपको एक हिस्सा)को कार्यकारी अध्यक्ष हुन् । ‘यो घर ६० वर्ष पुरानो भइसकेको छ, त्यसकारण अब यसलाई नयाँ रूप दिनुपर्छ, यसलाई नयाँ रूपमा ढाल्ने काम अब केही महिना पछिदेखि सुरु हुनेछ ।’ सेठ्ठीले भनेका छन् ।
सुपरस्टारको बान्द्रास्थित कार्टर रोडमा रहेको उक्त सुन्दर घर किन्दाको स्मरण गर्दै सेठ्ठी भन्छन् ‘उहाँको परिवारहरू घर किन्न सक्ने सम्भावित मानिसको खोजीमा हुनुहुँदो रहेछ, म पनि यस्तै किसिमको एउटा घर खोजिरहेको थिएँ, मैले खर्च गर्न चाहेको पैसा अनुसार यो घर पाएँ र प्रोपर्टी कन्सल्टेन्टसँग कुरा गरेर सिधै डिल गरेँ ।’
सेठ्ठीले घरको नाम आशीर्वाद नै राख्ने र नयाँ घर बनाएर त्यहाँ बस्न करिब १८ महिना लाग्ने बताए । यो घरको पहिला नाम आशीर्वाद नभई डिम्पल थियो । राजेशले अभिनेत्री डिम्पल कपाडियासँग विवाह गर्नुअघि यो घर आफ्ना अभिनेता साथी राजेन्द्र कुमारबाट किनेका थिए । उनले डिम्पलसँग विवाह गरेको केही वर्षपछि मात्र घरको नाम आशीर्वाद राखेका हुन् । यो घर किनेपछि राजेशले लगातार १५ वटा हिट फिल्म दिएका थिए, जुन फिल्मले राखेका रेकर्ड हालसम्म कुनै पनि फिल्मले नतोडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया