काठमाडौं । गत वैशाख १२ गते गएको भूकम्पले केही समयपछि धकेलिएको ‘मोडल हन्ट नेपाल २०१५’ को अडिसन चाँडै सुरु हुने भएको छ । नेक्स्ट मोडलस् नेपालले आयोजना गर्न लागेको प्रतियोगिताको अडिसन आगामी असार ५ र १९ गते राजधानीमा हुनेछ ।
संस्थाका अध्यक्ष रवि धमलाका अनुसार मोडलिङ पेसालाई थप व्यावसायिक एवं मर्यादित बनाई फेसन तथा मोडलिङ जगत्मा नयाँ आयाम थप्ने उद्देश्यले नेपालमै पहिलोपटक प्रतियोगिता आयोजना गर्न लागिएको हो । ‘भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायत देशमा चर्चित सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट’ यसपटक नेपालमा पनि आयोजना गर्न लागेका हौँ, नेपाली मुलका युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तर्राष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता हुन लागेको हो,’ अध्यक्ष धमलाले भने, ‘युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तर्राष्ट्रिय स्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुग्नेछ ।’
आयोजकले १६ देखि २८ वर्ष ननाघेका फ्रेस फेसका युवायुवतीले प्रतियोगितामा सहभागिता जनाउन सक्ने प्रावधान राखेको छ । पहिलो चरणको अडिसनबाट छानिएकालाई एक महिने प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा प्रतियोगीका लागि अन्तर्राष्ट्रिय रनवे, व्यक्तित्व विकास, आरजेभीजे, अन्तर्राष्ट्रिय फोटोग्राफी एवं फोटो सुट, सञ्चार कला, स्टेज परफरमेन्सलगायत विषयमा प्रशिक्षण दिइनेछ ।
प्रतियोगितामा शीर्षसहित आधा दर्जन विधागत अवार्ड प्रदान गरिनेछ भने शीर्ष उपाधि विजेतालाई १ लाख रुपैयाँ, फिल्म, म्युजिक भिडियो र विज्ञापनमा अभिनयको अवसर तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछन् । प्रतियोगिताको फिनाले साउन २३ गते हुँदै छ ।
प्रतिक्रिया