नेपथ्यले जुटायो रकम

Nepathyaकाठमाडौं, २ असार । चर्चित लोक पप रक ब्यान्ड नेपथ्यले विदेशका विभिन्न स्थानमा गरेको कन्सर्टबाट भूकम्पपीडितका लागि ४० लाख बढी रकम जुटाएको छ । भुइँचालोलगत्तै अस्ट्रेलियाको मेलबर्न, जापानको टोकियो, संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित कार्यक्रम र नेपथ्यले आफ्नैतर्फबाट प्रदान गरेको रकम गरी उक्त रकम जुटाएको हो ।

भुइँचालोको पहिलो धक्कासँगै नेपाल कापिरहेको बेला नेपथ्य एक महिने अष्ट्रेलिया भ्रमणको अन्तिम चरणमा थियो । लाखौँ संरचना भत्काउने र हजारौँको ज्यान लिने त्यो त्रासदीकै भोलिपल्ट मेलबोर्नस्थित टाउनहलमा गाउने–बजाउने कार्यक्रम तय थियो ‘यस्तो बेलामा थप तनाव बेहोर्नुभन्दा रद्दै गरिदिनु सजिलो पनि हुन्थ्यो । तर, हामीले कठिन बाटो अपनायौँ,’ नेपथ्यका मुख्य गायक एवं टोली अगुवा अमृत गुरुङले भने, ‘हामीले राष्ट्रिय संकटको यो घडीमा कार्यक्रम जारी राख्ने मात्र होइन मे महिनामा पूर्वनिर्धारित टोकियो र दुबईका सोलाई पनि भूकम्पसम्बन्धी चेतना अभिवृद्धि र पीडितलाई राहतका निम्ति समर्पित गर्दै अघि बढाउने निर्णय लियौँ ।’
मेलबर्न कार्यक्रमका आयोजक यति एफसीका राज शर्माले सदैव ताली र नृत्यले गुञ्जने नेपथ्यको प्रस्तुती आफ्नो क्षेत्रको लागि एउटा भव्य सांगीतिक श्रद्धाञ्जली समारोह भएको सुनाए । ‘एकातिर वाद्यवादनका प्रत्येक धुनले मुटुलाई छेडिरहेको थियो भने अर्कोतिर अमृत गुरुङका कम्पित स्वरबाट निस्केका सन्देशले सबै दर्शकको आँखा रसाएका देखिन्थे,’ उनले भने । उक्त कार्यक्रममा आयोजकहरूले कार्यक्रमस्थलमै चन्दा बाकस पनि राखेका थिए । त्यसबाट तत्कालै चार हजार अस्ट्रेलियन डलर जम्मा भएपछि त्यतिबेलै नेपथ्यले मे महिनाभरको कार्यक्रमलाई पीडितको सहयोगार्थ अघि बढाउने अठोट गरेको थियो ।
त्यसलाई साथ दिँदै मेलबोर्नका आयोजकहरूले थप संकलन गरेर सहयोग रकमलाई २० हजार अस्ट्रेलियन डलर पु¥याए । आयोजक शर्माका अनुसार त्यो रकम गैरआवासीय नेपाली संगठनको राहत क्याम्पेनको खातामा जम्मा भइसकेको छ । त्यसबाहेक अस्ट्रेलियाबाट फर्केलगत्तै नेपथ्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा पाँच लाख रुपैयाँ जम्मा गरेको थियो । दुबईमा हालै आयोजित सोबाट संकलित अर्को पाँच लाख रुपैयाँ गत साता पुनः प्रधानमन्त्री कोषमै नेपथ्यले जम्मा गरिसकेको छ ।
‘कार्यक्रमअगावै यसबाट हुने मुनाफा नेपथ्यको अठोटमा सघाउने घोषणा गरिसकेका थियौँ,’ गत जेठ ७ गते दुबईस्थित अल नासेर लिजरल्यान्डमा आयोजित कन्सर्टका आयोजक जस पाइजाले भने, ‘उक्त रकम पीडितको सहयोगार्थ नेपथ्यकै जिम्मा लगाएका छौँ ।’ दुबईभन्दा पहिलेको कार्यक्रम गत वैशाख २२ गते टोकियोस्थित कामता हलमा आयोजित थियो । उक्त कार्यक्रमका आयोजक ‘तमु धिँ’ ले समेत यसबाट हुने फाइदाको रकम राहत कार्यमै खर्च गर्ने प्रतिवद्धता प्रकट गरेको थियो ।
‘हामीले जापानस्थित गैरआवासीय नेपाली संगठनमार्फत एक लाख रुपैयाँ, धादिङ जिल्लाको धुसेनी प्राविलाई दुई लाख र गोरखाको शितलडाँडा प्रावि हंशपुरलाई एक लाख रुपैयाँ प्रदान गरिसकेका छौँ,’ जापानस्थित आयोजक तमु धिँका अमर गुरुङले खुलाए, ‘कन्सर्टबाट सुरुभएको सहयोग संकलनबाट उठेको कुल १५ लाखमध्ये अब बचेको ११ लाख रुपैयाँले भूकम्पका कारण टुहुरा बन्न पुगेका केटाकेटीको सहयोगार्थ योजना थालनी गर्ने सोचाइमा छौँ ।’ योजनाका निम्ति यस विषयमा विज्ञहरूबाट परामर्श लिइने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया