धनकुटा । मुलुकमा बढ्दो चेलीबेटी बेचविखनविरुद्ध चेतना जगाउनका लागि नायिका माया चाहार चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा लागेकी छन् । विभिन्न फिल्म, म्युजिक भिडियो र वृत्तचित्रलगायतमा अभिनय गरिसकेकी माया अभियानका लागि धनकुटा आइपुगेकी हुन् ।
मायाका अनुसार धनकुटामा चेलिबेटी बेचबिखनविरुद्धको डकुमेन्ट्री ‘माया’ को शनिबार देखाइँदैछ । निर्दोष कोइरालाको लेखन/निर्देशनमा बनेको डकुमेन्ट्रीमा चाहरको मुख्य भूमिका रहेको छ । चेलिबेटी बेचबिखनसँगै उनी जातीय विभेदविरुद्धको अभियानमा पनि लागेकी छन् ।
उनले यसअघि जातीय छुवाछूतविरुद्धको कथा समेटिएको ‘नयाँ परिवर्तन’ मा पनि सहायक भूमिकामा अभियन गरेकी थिइन् । चाहारले जनचेतनाको कमीका कारण अझै धेरै महिला बेचिरहेको र जातीय छुवाछूत जस्तो अमानवीय व्यवहार पनि कायमै रहेकाले त्यसको बिरुद्धमा लागेको बताइन् । ‘हाम्रो समाजका धेरै चेली अझै पनि जनचेतनाको कमीका कारण दलालको फन्दामा परेर विदेशी भूमिमा नारकीय जीवन बिताउन बाध्य छन्,’ उनी भन्छिन्, ‘त्यसको विरुद्ध जनचेतना अभिवृद्धिका लागि सबै जुट्न आवश्यक छ ।’
समाजमा प्रत्यक्ष रूपमा जनचेतना फैलाउनका साथै आफूले अब गर्ने अभिनय पनि जनचेतना अभिवृद्धि र समाज परिवर्तनका कथाबस्तुमा बढी केन्द्रित रहने उनले खुलाइन् । विगत तीन वर्षदेखि कलाकारिता क्षेत्रमा काम गर्दै आएकी चाहारले ‘जुनी जुनिलाई’, ‘म तिम्रो हुन सकिनँ’, ‘स्टेट’लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् ।
प्रतिक्रिया