काठमाडौं । एक महिनाअघि गएको भूकम्पबाट विशेषतः बालबालिकामा ठूलो मनोवैज्ञानिक असर परेको छ । एक महिनापछि विद्यालय खुले पनि उनीहरू निर्धक्कका साथ पढ्न जान सकेका छैनन् । पढ्न गएका विद्यार्थीले पनि त्रासले पढाइमा समय दिन सकेका छैनन् । उनीहरूलाई मनोवैज्ञानिक त्रास हटाउनका लागि कलाकारहरू विद्यालय पुगेर विविध कार्यक्रम गर्दै विद्यार्थीहरूको दिमागमा रहेको भूकम्पको त्रास हटाउन सक्रिय छन् । यो अभियानमा विद्यालयले पनि कलाकारहरूलाई साथ दिँदै आएका छन् ।
यसैक्रममा राजधानीको सामाखुशीमा रहेको नवोदित विद्याकुञ्जले पनि विद्यार्थीमाझ म्युजिकल थेरापी कार्यक्रम सञ्चालन गरेको छ । म्युजिकल थेरापीमा गायक पशुपति शर्मा, रमेशराज भट्टराई, राजु गुरुङ, कला पंगेनी, भागिरथ चलाउने, दीपक खड्कालगायतका कलाकारसहितका अभिभावकले सांगीतिक प्रस्तुती दिएका थिए । गायक पशुपतिले ‘मलाई अमेरिका यही’, ‘क्याम्पस पढ्न आउनी’ जस्ता गीत पस्कँदै भूकम्पको त्रासलाई भुल्न आग्रह गरे । अर्का गायक रमेशराजले ‘बबाल भो’ र ‘टेन्सन भो’ गीत गाउँदै भूकम्पको टेन्सन भुल्न आह्वान गरे । गायिका कला सरस्वी पुकार्दा गायक राजु गुरुङले ‘तीते करेलीले’, ‘सालैजो’ को भाका सुनाए । दीपक खड्काले चाहिँ ‘के आयो जमाना’ गीत गाउँदै भूकम्पको चिठी पढेर सुनाए । कमेडियन एवं जादुगर शेरबहादुर गुरुङले जादु देखाएर मनोरञ्जन प्रदान गरे ।
विद्यालयका सहायक प्रधानाध्यापक विकासराज शर्माले विद्यार्थीलाई भूकम्पका बारेमा ज्ञान दिँदा पत्रकार सुमन बैरागीले चाहिँ विद्यार्थीको पठनपाठनलाई सहज वातावरणमा लैजान विद्यालयलाई आग्रह गरे । विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले भूकम्पको त्रास हटाउन विभिन्न चेतनामूलक कार्यक्रम, रचनात्मक कार्यक्रम एवं म्युजिकल थेरापीका कार्यक्रम सञ्चालन गरिएको बताए । कार्यक्रममा जुनियर लिटल प्रिन्सेसको ताज चुम्न सफल भएकी सुप्रिमा भट्टराई र डान्सतर्फ सेकेन्ड रनरअप भएकी ईशा लम्साललाई सम्मान गरिएको थियो । (सौस)
प्रतिक्रिया