काठमाडौं, १८ जेठ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि प्रभावित क्षेत्रमा महामारी फैलिने खतरा नभएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
नेपालमा सरुवा रोगको हालको अवस्था र गर्मी तथा वर्षा ऋतुमा देखिने स्वास्थ्य समस्याका बारेमा आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा महाशाखाले सो जानकारी दिएको हो ।
महाशाखाले इवोला रोगसम्बन्धी हालको स्थिति र स्वाइनफलु वा इन्फलुएन्जा एच १ एन १ को स्थितिका बारेमा अन्तरक्रिया कार्यक्रममा भूकम्प प्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना संकलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जनाएको छ ।
महाशाखाका निर्देशक डा बाबुराम मरासिनीले मौसम परिवर्तनको समय भएकाले खानाबाट सिर्जित रोग, मासु, जङ्गली च्याउ, दूधको खानपिन तथा सर्पको डसाइका रोगहरु बढी फैलिन सक्ने भएकाले यसतर्फ सजग र सचेत हुनुपर्ने बताए ।
उनले बाँके, बर्दिया र कैलालीमा बाहेक अन्य जिल्लामा लू नचलेको र लू चलेको बेला घरमा बस्ने, आराम गर्ने तथा पानी प्रसस्त पिउनुपर्ने सल्लाह दिए ।
डा मरासिनीले लाइबेरियामा नेपाली सेना धेरै रहेकाले इबोला भाइरस भित्रिन सक्ने खतरा कायम रहेको भन्दै बेलामा सरकार सचेत हुनुपर्ने औंँल्याए । गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुकमा इबोला भाइरस फैलिए पनि नेपालमा हालसम्म यसको प्रभाव नपरेको जानकारी दिँदै तर ढुक्क हुने स्थिति भने नरहेको उनले उल्लेख गरे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा गीता शाक्यले भूकम्पप्रभावित क्षेत्रका १४ जिल्लामा ५४ वटा नमुना सङ्कलन गरी परीक्षण गर्दा एउटा नमुनामा मात्र माइल्ड किसिमको बी पोजिटिभ पाइएको जानकारी दिए । उनले नेपालमा हालसम्म इबोला भाइरसको खतराको स्थिति नरहेको जानकारी दिए ।
डा शाक्यले इन्फ्लुएन्जा ए, वि र सीको विभिन्न नमुना सङ्कलन गरी विश्व स्वास्थ्य सङ्गठनमा पठाइएकोमा तीनवटा नमुनामा नकारात्मक देखिएको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनका डा केशव योगीले मध्य अफ्रिका, पूर्वी अफ्रिका, पश्चिम अफ्रिकामा मानिसबाट मानिसमा इबोला भाइरस महामारीका रुपमा फैलिएको जानकारी दिँदै गिनी, सिएरालियोन र लाइबेरियासहित १० मुलुक यसबाट विशेष प्रभावित भएको जानकारी दिए ।
प्रतिक्रिया