खेलाडी कोषद्वारा आर्थिक सहयोग

nabita-shresthaकाठमाडौं, ७ जेठ । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले १२ वैशाखकोे विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका सात खेलाडी, एक प्रशिक्षक र खेल पत्रकारसहित नौ जनाको परिवारलाई आर्थिक सहयोग बुधबार हस्तान्तरण गरेको छ । भूकम्पकै कारण पूर्णरूपमा घर क्षतिग्रस्त भएका विभिन्न खेलका वर्तमान र पूर्वराष्ट्रिय खेलाडी गरी १४ जनालाई पनि आर्थिक सहयोग प्रदान गरियो ।

कल्याणकारी कोषका अध्यक्षसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव युवराज लामाले ज्यान गुमाएका परिवारलाई १–१ लाख तथा घर पूर्णरूपमा क्षतिग्रस्त भएकालाई २०–२० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे । भूकम्पका कारण खेलाडीहरू करातेका चन्द्रकुमार श्रेष्ठ र सुरज डंगोल, पारा एथलेटिक्सका जितबहादुर खड्का, जुडोका अनिशा डंगोल, निलम डंगोल र नारायण तामाङ तथा क्रिकेटका मनोज पण्डितले ज्यान गुमाएका थिए । भलिबल प्रशिक्षक केशवलाल श्रेष्ठ र गोरखापत्र दैनिकका खेलकुद पत्रकार सुमन भोम्जनको पनि सो भूकम्पमा परी निधन भएको थियो ।
घर पूर्णरूपमा क्षतिग्रस्त हुनेमा बक्सिङका दीपक महर्जन, करातेका सुनील लामा, सुलोचना जिख्वा र बुद्धिबहादुर श्रेष्ठ, टेबलटेनिसका शिवसुन्दर गोथे, रितामैया प्रजापती, मुना बासुकला र नविता श्रेष्ठ, एथलेटिक्सकी विमला राना मगर, उसुका आङबाबु लामा, जुडोका श्रीराम मकाजु तथा तेक्वान्दोका अशोक खड्का, रोहित तामाङ र प्रेम भण्डारी छन् । सम्बन्धित राष्ट्रिय खेल संघ र स्थानीय निकायको सिफारिसमा खेलाडी कल्याणकारी कोषको बैठकले आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया