काठमाडौं, ६ जेठ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष पिताम्बर तिमल्सिनाको पहलमा भूकम्पपीडित राखेपअन्तर्गत तथ्यांक शाखामा करार सेवामा कार्यरत सहायक द्वितीय बालमुकुन्द नापितलाई मंगलबार आर्थिक सहयोग प्रदान गरिएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पमा नापितकी धर्मपत्नी लक्ष्मीको निधन भएको थियो । त्यसबेला नापित धर्मपत्नी र नाबालक छोरा तीन वर्षीय रिजेशसहित कपनको साततले भवनमा डेरा गरी बस्थे ।
तिमल्सिनाकी छोरी आर्यनाले ५० हजार रुपैयाँ बराबरको चेक रिजेशलाई राखेप हातामा हस्तान्तरण गरिन् । तिमल्सिनाले रिजेशको अध्ययन खर्चमा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरिएको बताउँदै भूकम्पले खेलक्षेत्रमा पु¥याएको क्षतिलाई राज्यले छुट्टै प्याकेज तयार गरी सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले रिजेशकै नाममा खाता खोली रकम जम्मा गर्ने व्यवस्था पनि मिलाएको बताए ।
तिमल्सिनाकै पहलमा नापितलाई ग्यास सिलिन्डर र चुलो, ब्ल्यांकेट र मुन्डी पनि त्यसै अवसरमा प्रदान गरिएको थियो । उक्त सामग्री नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीले नापितलाई हस्तान्तरण गरे ।
आर्थिक र राहत सामग्रीका लागि बेलायतमा रहेका सूर्य महतो, अभिषेक गुप्ता र शर्मिला थापा, अमेरिकामा रहेकी शारिका थापा तथा अल्फाज बोज (ग्लोबल फुड) ले सहयोग गरेको तिमल्सिनाले जानकारी गराए । सोही अवसरमा नेपाल च्यानबारा स्पोर्ट्स संघका अध्यक्षसमेत रहेका राखेप सदस्य देवकुमार लामाले पनि नापितलाई पाँच हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
प्रतिक्रिया