काठमाडौं, ४ वैशाख । अन्तर्राष्ट्रिय चाङ होन तेक्वान्दो महासंघ नेपाल (आइसिटिएफ) का प्राविधिक निर्देशक र साङरोक नेपाल तेक्वान्दो एकेडमी अध्यक्ष एवं निर्देशक दिनेश शर्माले भूकम्पपीडित नेपाली खेलाडी तथा अन्य पीडितको सहयोगका विभिन्न तहका रूपमा अगाडि बढिरहेको बताएका छन् ।
उनको अनुसार नेपालका प्रायःजसो खेलाडीको आर्थिक अवस्था कमजोर रहेकाले खेलकुदका विभिन्न निकाय र खेल संघले एकीकृत भएर लाग्नुपर्नेमा जोड दिए । आफ्नो खेल संघले विभिन्न संस्थासँग मिलेर भूकम्पपीडितका लागि सहयोगमा जुटेको शर्मा बताउँछन् ।
त्यस्तै खेलाडी र संघका पदाधिकारीसँग मिलेर पहिलो चरणमा रक्तदान, दोस्रोमा क्षतिग्रस्त क्षेत्रमा स्वयंसेवक र तेस्रो चरणमा जनचेतनामूलक कार्यक्रममा लागि परिएको उनी बताउँछन् । ती तीन चरणको कार्यक्रम पश्चात् फिड टु चिल्ड्रेन नामक संस्थासँग समन्वय गरेर भूकम्पपीडित बालबालिकाका लागि खाद्यान्नलगायत राहत वितरण गरेको थियो । संघका विभिन्न खेलाडीलाई भूकम्पद्वारा क्षतिग्रस्त विभिन्न ठाउँमा स्वयंसेवकको रूपमा खटाइएको थियो । हाल नेपालमा रगतको संकट परेको कारण ती खेलाडीलाई रक्तदानका लागि प्रेरित गरिएको थियो ।
साथै संघले महाविनासकारी भूकम्पमा परेर निधन भएका तथा घरबारविहीन खेलाडीका लागि तत्कालको लागि राहत व्यवस्था गरेको थियो । संघको सम्पर्कमा आएका आफ्ना खेलाडीलाई केही सहयोग मिल्ने गरी सहयोग गरिसकेको बताए । उनले भने ‘अति क्षतिग्रस्त क्षेत्रमा रहेका केही भूकम्पपीडित र खेलाडीका लागि आवश्यकीय खाद्यान्नहरू वितरण गरिसकेको छौँ । तैपनि, उनीहरूलाई राहत पुगेको छैन र पछि अन्य संघसंस्थासँग समन्वय गरी थप सहयोग गर्नेछौँ ।’
‘अहिले उनीहरूलाई खाना र बासका लागि त्रिपाल अति आवश्यक रहेकाले त्यो सामग्री मात्र प्र्रदान गरेको छाँै ।’ उनले भने, ‘हामीले आफ्ना खेलाडीको अवस्थाका बारेमा पनि बुझ्दै छौँ । संघको जानकारीमा आएका खेलाडीलाई भने पहिलो चरणमा राहत वितरण गरिसक्यौँ ।’
केही खेलाडी हाल नाजुक अवस्थामा रहेकाले संघले पहिलो चरणमा दैनिक आवश्यकीय खाद्यान्न र पाललगायत केही समग्री सहयोग गरेको उनले बताए । तर, अब छिट्टै संघको बैठक बसेर उनीहरूलाई थप सहयोगका लागि अघि बढ्नेछौँ । बैठकमा खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीका बारेमा उठाउने जोड दिए । उनीे राष्ट्रिय खेलकुद परिषद् र अन्य संघले मानवीय क्षति भएको खेलाडीलाई दिगो सहायता गर्नुपर्ने धारणा व्यक्त गर्छन । ‘केही खेलाडी मानसिक तथा मनोवैज्ञानिक रूपमा पनि समस्यामा परेका छन् ती खेलाडीका लागि राम्रो वातावरण सिर्जना गर्नुपर्छ’ उनले भने ।
प्रतिक्रिया