पारा खेलाडी नवराजको बासको टुंगो छैन

nawaraj2काठमाडौं, १ जेठ । गत वैशाख १२ गते शनिबार आएको भूकम्पका थुप्रै पीडितसामु सहयोग र राहत नपुगेको गुनासो आइरहेका छन् । धेरै पीडितले त्रिपालमै दिन काटे पनि त्रिपाल नपाउने पनि छन् ।

नेपाली पारा तेक्वान्दो खेलाडी नवराज कार्कीले पनि यस्तै समस्या भोग्दै आएका छन् । १२ वैशाखमा आएको भूकम्पले घर भत्काएपछि पारा तेक्वान्दो खेलाडी नवराज कार्की खुला आकाशमा जीवन बिताउन बाध्य भएका छन् । नेपालको राजधानी काठमाडौंबाट करिब एक सय ६० किलोमिटर टाढा दोलखाकोे उनको घर भूकम्पले क्षति पुर्‍याएपछि उनी खुला आकाशमा बस्न बाध्य छन् ।
नवराजले उनको क्षेत्रमा हालसम्म पनि कुनै क्षेत्रका व्यक्ति राहत र सहयोगका लागि नपुगेकाले आफूहरूलाई गाँस र बासमा गाह्रो भएको गुनासो पोखे । ‘घर पनि अब रहेन खानका लागि पनि केही रहेन अब कसरी बाँच्ने हो थाहा छैन,’ नवराजले भने । कोही पहँचमा रहेका घरछेउकालाई सहयोग आए पनि आफूहरू सामान्य खेतीकिसानी गर्ने मान्छे भएकाले कसैले पनि सहयोग नगरेको नवराज बताउँछन् ।
भूकम्प आएको दिन नवराज काठमाडांमै थिए । घरबाट फोन आयो, घर भत्केको गाउँ आउनु भनेर । तर उनी जान पाएनन् । त्यो समयमा उनीसँग घरजाने भाडा पनि थिएन । १२ गते आएको भूकम्पले घर भत्काएको जानकारी उनले १३ गते पाए पनि २५ वैशाखमा मात्र घर जाने अवसर पाए । उनी भन्छन्, ‘पारा तेक्वान्दो गुरु यादव कुवँरले घर जानका लागि खर्चको व्यवस्था मिलाइदिनुभयो त्यसपछि मात्र घर जान पाएँ ।’
गाउँ आए पनि गाउँमा खाने र बस्नका लागि केही नभएकाले परिवारहरू भोकभोकै बस्नुपरेको उनको गुनासो छ । ‘दुई/चार दिन त गाउँमा मागेर चलायाँ अब सबैतिर सकियो । सबैको हालत हाम्रो जस्तै छ, यहाँ हालसम्म कुनै पनि सरकारी निकायका मान्छे आइपुगेका छैनन् । कति ठाउँमा भन्डार गरेको राहत सामग्री कुहिएका छन् भन्ने सुनेको छु । तर, हामीले भने खान पनि पाएका छैनौँ,’ नवराजले दुःख पोखे, ‘सबैले एकै ठाउँमा राहत पुर्‍याए कति ठाउँमा १०–१२ पटक राहत सामग्री पुग्छन् र पछि ती सामग्रीको दुरूपयोग भएका छन् । तर, हामीकहाँ अहिलेसम्म एउटा चाउचाउको प्याकेटसम्म
आइपुगेको छैन ।’
उनलाई सम्बन्धित निकायले बेवास्ता गरेको गुनासो पनि छ । कुनै समय नेपाल तेक्वान्दो संघ र पारा तेक्वान्दो संघहरू यी पारा खेलाडी आफ्नो हो भन्न कुनै कसर बाँकी राख्दैनथे र यी दुई संघबीच खेलाडीका लागि लामो समयदेखि द्वन्द्व तथा शितयुद्ध नै चलेको छ । तर, यी खेलाडीलाई समस्या आइपर्दा दुवै संघ मौन छन् ।
उनले नौ महिनादेखि तेक्वान्दो प्रशिक्षण लिएका छन् । नवराज एक पारा खेलाडी भएकाले उनको आम्दानीको केही स्रोत पनि छैन । जसका कारण उनलाई जीवन निर्वाह गर्न गाह्रो भएको छ । उनी सिभल खेलाडी हुन् त्यसमाथि उनले कुनै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर नपाएकाले उनी कुनै पनि खेलकुदको निकायले गर्ने सहयोगको लिस्टमा पदैनन् । उनीजस्ता कैयाँ खेलाडी जो कुनै चर्चामा छैनन् या सफलताको शिखर चुमेका छैनन् ती खेलाडीलाई हेर्ने या सहयोग गर्ने कुनै पनि खेलकुद निकाय हालसम्म अगाडि बढेको देखिएको छैन ।

प्रतिक्रिया