काठमाडौं १ जेठ । नेपालका विभिन्न खेल संघले गत १२ वैशाखमा गएको भूकम्पका पीडितहरूलाई सहयोग गर्ने भएका छन् । खेल संघहरूको भेलाले महत्वपूर्ण ६ वटा निर्णय गरेका छन् । खेल संघहरूले भूकम्पबाट पीडितहरूका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत प्रधानमन्त्री राहत कोषमा २५ हजार रुपैयाँका दरले जम्मा गर्ने निर्णय गरेको उल्लेख छ । संघहरूको निर्णयअनुसार पीडितहरूका लागि आर्थिक र जिन्सी सहयोग गरिनेछ ।
संघले अतिप्रभावित क्षेत्रमध्ये एक क्षेत्रमा कुनै एक सम्भावित खेलस्थल निर्माण गर्ने जानकारी दिएको छ । प्रत्येक खेल संघले आफ्नो खेलसँग सम्बन्धित विश्व खेल महासंघ एवं अन्तर्राष्ट्रिय खेल संस्थालाई हुनसक्ने राहतसम्बन्धी छलफल गर्न गराउन पहल गर्ने निर्णयसमेत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्मा हालसम्म कुल एक सय ५६ खेल संघ दर्ता भएका छन् ।
नेपालमा भूकम्पबाट अति प्रभावित क्षेत्रमा खेलसंघहरूबाट स्वयंसेवक नामावली युवा तथा खेलकुद मन्त्रालयको राहत व्यवस्थापन समितिमा पठाउने निर्णयमा उल्लेख छ । कुनै पनि खेलक संघबाट जम्मा भएको रकम खेल संघहरूबाट गठित समितको निर्णय गरेअनुरूप पुनर्निर्माणमा खर्च गरिनेछ । संघहरूले कुनै पनि पीडितहरूका लागि सहयोग गर्दा गठित खेलसमितिमार्फत गर्नु पर्नेछ ।
प्रतिक्रिया