काठमाडौं, ३० वैशाख । भूकम्पीय सुरक्षा प्रविधि अपनाएर घर बनाएमा ठूलै भूकम्पबाट पनि जोगिन सकिँदोरहेछ भन्ने तथ्य यस पटक पुष्टि भएको छ ।
भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट)को प्राविधिक सहयोगमा भूकम्पीय सुरक्षा विधि अपनाएर निर्माण गरिएका देशका विभिन्न जिल्लाका ११७ वटा विद्यालय भवन यही १२ गतेको ठूलो भूकम्प र त्यसपछिका अनेकौँ सानाठूला पराकम्पमा समेत सुरक्षित रहेको जानकारी प्राप्त भएको छ ।
ती विद्यालय भवनहरु काठमाडौँ उपत्यकालगायत काभ्रे, तनहुँ, सिन्धुपाल्चोक, मकवानपुर, नवलपरासी, सुनसरी, उदयपुर, रसुवा, लमजुङमा रहेका छन् ।
भूकम्पबाट सुरक्षित बनाउन प्रवलीकरण (रेट्रोफिट) गरिएका विद्यालय भवनहरुको स्थलगत भ्रमण तथा टेलिफोन सम्पर्कबाट प्राप्त जानकारीका आधारमा ती सबै भवन सुरक्षित रहेको पाइएको एनसेटबाट थाहा भएको छ ।
तीमध्ये अधिकांश विद्यालय भवन हाल स्थानीय भूकम्पपीडितले आश्रय स्थलका रुपमा प्रयोग गरिरहेका छन् भने केही भवन स्वास्थ्य संस्था तथा सामाजिक संस्थाले उपचार र राहत कार्यमा पनि उपयोग गरिरहेका छन् ।
एनसेटका विद्यालय सुरक्षा कार्यक्रम प्रमुख इन्जिनियर सूर्यप्रसाद आचार्यले एनसेटको प्राविधिक सहयोगमा प्रवलीकरण गरिएका ८२ वटा विद्यालय भवन र भूकम्प प्रतिरोधी निर्माण विधि अपनाइएका ३५ वटा विद्यालय भवन सुरक्षित अवस्थामा रहेको जानकारी प्राप्त भएको बताए ।
भवनको यति ठूलो क्षति हुँदा पनि आफूहरुको प्राविधिक संलग्नतामा निर्माण भएका विद्यालय भवनका संरचनामा क्षति नभएकोमा सन्तोष व्यक्त गर्दै उनले यस पवित्र कार्यमा सहयोग पुराउने सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरु, अभिभावक, विद्यार्थी सबैलाई धन्यवाद ज्ञापन गरे ।
उनले पवित्र कार्यको निरन्तरता र भूकम्पीय जोखिम न्यूनीकरणको अभियानमा साथ दिनसमेत सम्बन्धित सबै पक्षलाई आह्वान गरे ।
यसैबीच, भूकम्पप्रभावित जिल्लाका शिक्षा कार्यालयबाट प्राप्त जानकारीअनुसार अधिकांश कच्ची विद्यालय भवन प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भएको बताइएको छ ।
यसैगरी, एनसेटको प्राविधिक सहयोग र युनिसेफ तथा अन्य सङ्घसंस्थाको प्रायोजनमा काठमाडौं उपत्यकाका भूकम्प प्रभावित बालबालिकालाई लक्षित गरी आठवटा बालमैत्री अस्थायी केन्द्र निर्माण गरिएका छन् ।
यस प्रकारका केन्द्रहरु अन्य प्रभावित जिल्लामा पनि स्थापना गर्नुपर्ने आवश्यकतामा समाजले जोड दिएको छ ।
प्रतिक्रिया