काभ्रेका ८१ हजार विद्यार्थी भूकम्पबाट प्रभावित

काभ्रे, २९ वैशाख । भूकम्पमा २५ जना विद्यार्थी र एक शिक्षकले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा ९ छात्र र १६ छात्रा छन् । उनीहरूको घरमै पुरिएर निधन भएको थियो भने यसको संख्यामा वृद्धि हुनसक्ने जिल्ला शिक्षा कार्यलय काभ्रेको अनुमान छ । कार्यालयले दिएको जानकारीअनुसार ८१ ओटा विद्यालय पूर्ण क्षति र तिनका एक हजार पाँच सय ७३ कक्षामा आंशिक क्षति भएको छ । ती विद्यालयको एक हजार नौ सय ५१ कक्षा कोठा सञ्चालन गर्न नसक्किने गरी नै क्षति पुगेकाले अस्थायी कक्षा कोठाको जरुरी भइरहेको शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले जानकारी दिए । उक्त भवनहरू तत्काल जीर्णोद्धार गर्न नसकिने भन्दै सबै विद्यार्थीलाई एउटै कक्षमा राखेर अध्यापन गराउने पहल भएको उनले बताए ।

आगामी महिनाबाटै संयुक्त कक्षामा राखी विद्यार्थीलाई अध्यापन गराउन आपूmहरूले पहल र सक्रिय भएर लागि परेको कुरा उनले बताए । यसरी जिल्लामा रहेका विद्यालयहरूको भौतिक क्षतिले जिल्लाका ८० हजार नौ सय विद्यार्थीहरू प्रभावित भएको र तिनीहरूलाई पहिलेकै अवस्थामा फर्काउन धेरै समय लाग्ने बताउँदै भयरहित वातावरण तयार गर्न शिक्षकहरूको बढी जिम्मेवार हुने भएकाले यससम्बन्धी शिक्षकहरूलाई आवश्यक तालिमको व्यवस्था मिलाइने कुरा उनले जानकारी गराए । उनले विद्यालय व्यवस्थापन समितिको बैठक तत्कालै राखी उनीहरूको समन्वयमा विद्यालयलाई अगाडि बनाउन र विद्यार्थीहरूलाई सरलीकरण गर्न सबै विद्यालयलाई निर्देशन दिएको पनि बताए । यसरी त्रासमा उनीहरूलाई मानसिक समस्या पर्नसक्ने खतरा पनि बढ्नसक्ने कतिपय डाक्टरहरू भन्न थालेका छन् । यता यसरी लामो समयसम्म विद्यालय जान नपाउँदा काभ्रेको पाँचखालकी सफलता श्रेष्ठ भने आफ्नी आमाले सिकाएको कुरा पालमुनि नै बसेर पढ्दै गरेकी छिन् । उनकी आमा स्वेता भन्छिन्, ‘छोरी स्कुल जान नपाएकोमा सधैँ झगडा गरिरहन्छिन् ।’

प्रतिक्रिया