अपराधगर्ने सभासदलाई कारबाही गर्न सकिएन

काठमाडौं, ३ वैशाख । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमुख दलहरु बीच सहमति हुन नसक्दा अपराध गर्ने सभासदलाई कारबाही गर्न नसकिएको बताएका छन् ।
राजधानीमा आज संसदीय मामिला पत्रकार समाज सहितका संस्थाद्धारा आयोजित कार्यक्रममा नेम्वाङले अपराधमा संलग्न सभासदलाई कारबाही गर्न नियमावली संशोधन गर्ने तयारी गरिए पनि संशोधन गर्न नसकिएको बताए । उनले अपराध गर्ने र अपराधमा संलग्न सभासदका कारण सिङगो संविधानसभालाई असर परेको गुनासो समेत गरे ।
संविधानसभा नियमावली संशोधनका लागि उपसमिति समेत बनाएको स्मरण गराउदै नेम्वाङले प्रमुख दलहरुका बीच सहमतिको आवस्कता रहेको बताए ।
उनले भने, ‘रातो पासपोर्ट, अपहरणमा संलग्न हुने सभासदका कारण अरु निर्दोशहरु मर्कामा परेका छन् ।’
सञ्चार क्षेत्र र संसदको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका नेम्वाङले कहिले काही समस्या आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले सञ्चारकर्मीलाई आफ्नो तर्फबाट सूचना उपलब्ध गराउन सहयोग गर्ने पनि बताए ।
नेम्वाङले संसद वा संविधानसभाको समाचारमा कुनै समस्या भए आफू र सचिवालयले सहयोग गर्ने प्रतिवद्धता दोहराए ।

प्रतिक्रिया