मुम्बई, २३ वैशाख । दुर्घटना आरोपमा विगत १३ वर्षदेखि मुद्दा खेप्दै आएका बलिउड सुपर स्टार सलमान खानलाई दोषी पाएपछि पाँच वर्षको कैद सजाय फैसला भएको छ ।
मुम्बईको तल्लो अदालतले आज (बुधबार) १३ वर्ष पुराने ‘हिट एण्ड रन’ केसमा सलमानविरुद्धका सबै आरोपमा दोषी ठहर गरेको हो । उनलाई दोषी पाएपछि पाँच वर्षको कैद सजाय सुनाइएको छ ।
अदालतको सजाय सुनेपछि सलमान अत्यन्तै चिन्तित मुद्रामा थिए ।
अदालतको फैसलासँगै उनलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सलमानलाई मुम्बईकै आँर्थर रोड जेलमा राखिनेछ ।
तल्लो अदालतको फैसलाविरुद्ध आजै बाम्बईस्थित हाई कोर्टमा अपील गरिने सलमानका कानुन व्यवसायीले बताएका छन् । त्यसपछि सलमान तारिखमा रिहा हुने कानुन व्यवसायीको भनाइ छ ।
सलमानले दुर्घटनाका बेला आफूले गाडी नचलाएको बयान अदालतमा दिएका छन् । तर प्रहरी रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार गाडी सलमानले नै चलाएको जनाइएको छ ।
सरकारी वकीलले सलमानविरुद्ध दस सालको कैद सजाय माग गरेका थिए । तर तल्लो अदालतले आज पाँच वर्षको सजाय मात्रै सुनाएको हो ।
अदालत परिषरमा रहेकी सलमानकी बहिनी अलवीरा रोएकी थिइन् । सलमानका भाई सोहेल खान भने चुप थिए । सलमानलाई पाँच वर्षको सजाय सुनाइपछि उनकी आमा विरामी परेको समाचारमा जनाइएको छ ।
अदालतले दुर्घटना भएका बेला सलमानले मदिरा सेवन गरे गाडी चलाएको जनाएको छ । त्यस बेला सलमानसँग गाडीको लाइसेन्ससमेत नरहेको फैसलामा उल्लेख छ ।
सलमानलाई कैद हुनुको के थियो कारण ?
४९ वर्षीय अभिनेता सलमानले आफ्नै टोयोटा ल्यान्ड क्रुजर गाडीले २८ सेप्टेम्बर सन् २००२ मा बान्द्राको एक बेकरीमा प्रवेश गराई दुर्घटना गरेका थिए । दुर्घटनामा एक जनाको मृत्यु भएको थियो । अन्य चार जना घाइते भएका थिए ।
दुर्घटनामा नुरूल्ला महबूब शरीफको मृत्यु भएको थियो । कलीम मोहम्मद पठान, मुन्ना मलाई खान, अब्दुल्ला रउफ शेख र मुस्लिम शेख घायल भएका थिए ।
सलमानले दुर्घटनाका बेला आफूले गाडी नचलाएको बयान अदालतमा दिएका छन् । तर प्रहरी रिपोर्ट र प्रत्यक्षदर्शीका अनुसार गाडी सलमानले नै चलाएको जनाइएको छ ।
प्रतिक्रिया